काठमाडौं ।
निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार भर्चुअल माध्यमबाट सातवटै प्रदेश निर्वाचन कार्यालयहरूको उद्घाटन गरेका छन् । मन्त्रिपरिषद्को गत माघ २६ गतेको निर्णयअनुसार निर्वाचन आयोगअन्तर्गत सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत भएको थियो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैँले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकताअनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्नसक्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम आयोगले गरेको सिफारिसका आधारमा हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साबिकका जिल्ला निर्वाचन कार्यालय खारेज गरी आयोगको प्रादेशिक कार्यालय स्थापना गरिएको हो । नेपाल प्रशासन सेवा, राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवको नेतृत्वमा नौ जना कर्मचारीहरू रहने गरी प्रदेश निर्वाचन कार्यालय रहनेछ ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगलाई नेपालको संविधानबमोजिम संघीय ढाँचाअनुकूल तुल्याउन र आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको जानकारी गराए । साथै, यसरी स्थापित कार्यालयहरूबाट आगामी दिनमा निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवं मतदाता जागरणलगायत आयोगलाई तोकिएका कार्यसम्पादनमा थप सहजता हुने र जिल्ला निर्वाचन कार्यालयहरूको काम कामकारबाहीमा प्रभावकारी समन्वय हुने बताए ।
आयोगका सचिव सुरेश अधिकारीले प्रदेशस्तरमा समेत आयोगको उपस्थितिले आयोगबाट सम्पादन गर्नुपर्ने क्रियाकलापमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे । उक्त कार्यक्रममा आयोगका आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधार, आयोगका सचिव सुरेश अधिकारी, आयोग सचिवालय मातहतका सवै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरू एवं विकास साझेदार संस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति थियो ।