काठमाडौं ।
नबिल बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघबीच सम्झौता भएको छ । बैंकका अनुसार स्थानीय तयारी पोसाक उत्पादन व्यवसायीहरूलाई आवश्यकताअनुसार बैंकको कर्जा नितिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवाहरू प्रदान गर्ने सम्झौता भएको हो । निरजकुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंकर किशोर नेपाल, अध्यक्ष, एनएसटीपीउएसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा नबिल बैंकको तर्फबाट मनोजकुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एनएसटीपउएसको तर्फबाट सुमित प्रधान, उपाध्यक्षको उपस्थिति रहेको थियो ।
साझेदारीको बारेमा बोल्दै निरजकुमार बस्नेत (डनिल)ले भने, ‘राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थान सँगै दिगो सीपको विकास, उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तीय पहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास राख्दछ । यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पु-याउने लक्षयका साथ स्थानीय तयारी पोसाक निर्माताहरूलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जालगायत विभिन्न प्रकारका बैंकिङ सुविधा उपलब्ध गराउने छ ।
नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एनएसटीपीउएससँगको यस सहकार्यमार्फत देशभरका स्थानीय व्यवसायीहरूको ‘मेक इन नेपाल’ उत्पादनहरूलाई प्रोत्साहन गरी सहयोग पु-याउन उत्साहित छ ।’
त्यस्तै नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघका अध्यक्ष, किशोर नेपालले भने, ‘नेपाली उत्पादनहरू प्रयोग गरौँ, राष्ट्र निर्माणमा सहयोग गरौँ’ भन्ने मूल नाराका साथ नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोसाक एउटा ठूलो सम्भावना र आशाको किरण तथा समृद्धिको बाटो हुनेमा हामी विश्वस्त छौँ, बैंकले भनेको छ । (आर्थिक दैनिकबाट)