काठमाडौं ।
कुमारी बैंक लिमिटेडले तीनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्यूआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । कुमारी बैंकका सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीकोे प्रमुख आतिथ्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलगायत आमन्त्रित अतिथिको उपस्थितिमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरूलाई हस्तान्तरण गरिएको हो ।
कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै आइरहेको छ । ‘यस क्यूआर प्रणालीअन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने, चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्नेजस्ता फाइदाहरू रहेका छन् । त्यसैगरी, व्यवसायीहरू हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाइराख्नुपर्ने तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् ।
उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन’, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने । क्यूआर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबारसम्बन्धी सचेतना कार्यक्रमहरू समेत गर्दै आइरहेको छ । हालसम्म बैंकले आठ हजारभन्दा बढी व्यापारीहरूलाई फोन–पे क्यूआर डिजिटल भुक्तानी प्रक्रियामा आबद्ध गराइसकेको छ ।