काठमाडौं ।
नेपाल धागो उत्पादक संघ र यूके एडको सहयोगमा सञ्चालित रोजगारीका लागि सीप कार्यक्रम (सीप)को बहुकारखाना साझेदारीले चार हजार व्यक्तिहरुलाई रोजगारसँग सम्बन्धित गुणस्तरीय सीप विकास तथा रोजगारीको अवसर प्रदान गरेको छ । साथै उक्त साझेदारीले त्रिवेणी स्पिनिङ मिल, जगदम्बा स्पिनिङ मिल, रिलाएन्स स्पिनिङ मिल, ट्राइकोट इन्डष्ट्री तथा जय स्पिनिङ मिलका कारखानाको क्षमतामा सुधार ल्याएको बताइएको छ ।
सीपले नोभेम्बर २०१९ देखि उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिट् तथा नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले सीपले आयोजना गरेको एक कार्यक्रममा उपस्थित भई सीप र संघको साझेदारीले हासिल गरेको प्रभावबारे जानकारी समेत लिएका छन् । साथै धागो उद्योगको रूपान्तरण तथा दिगो रोजगारी सिर्जनाको लागि लिनुपर्ने बाटोको बारेमा पनि विचारविमर्श गरेका थिए ।
नेपालका लागि बेलायती राजदूत पोलिट्ले उद्योगहरूमा रहेको श्रमशक्ति तथा उत्पादकत्वमा रहेका खाडलहरुलाई रणनीतिक रूपमा पूर्ति गर्न हाम्रा संयुक्त पहलहरू सफल भएको बताए । कार्यक्रममा रामचन्द्र संघाई, विष्णु न्यौपाने, अभीक ज्योति, अक्षय गोल्यान तथा शक्ति गोल्यान जस्ता धागो उद्योगका प्रमुख उद्योगीहरु पनि सहभागी थिए ।
कार्यक्रममा धागो उद्योगको नेतृत्वमा पाँचवटा पदहरुको लागि तयार भएको पाठ्यक्रमको सुरुवात समेत गरिएको थियो । सुधार गरिएको र मानकबमोजिम बनाइएको पाठ्यक्रम कारखानाहरूको सुझाव र प्रतिक्रियामा सहज विकास तथा परिष्कृत गरिएको थियो ।
यस पाठ्यक्रमका अलावा प्रशिक्षकको क्षमता र पूर्वाधारमा भएको सुधार तथा कारखानामा हुने प्रक्रियालाई छरितो बनाउँदा उद्योगमा उत्पादकत्व तथा रोजगारी सिर्जना गर्नको लागि वातावरण बनाउने तथा त्यसलाई दिगो राख्ने काम सुनिश्चित गर्न सक्छ । संघका अध्यक्ष गोल्यानले सीप विकासका पहलहरूलाई कारखानाको वृद्धि हासिल गर्न सक्ने गतिविधिहरुसँगको सम्मिश्रण धागो उद्योगलाई रूपान्तरण गर्ने आफूहरुको संयुक्त प्रयास रहेको बताए । उक्त रूपान्तरण हासिल गर्नको लागि आधुनिकीकरण तथा विस्तार, सुधारिएको गुणस्तर तथा प्रतिस्पर्धी मूल्यमार्फत नयाँ भौगोलिक क्षेत्रहरुमा निर्यातलाई विविधीकरण, संस्थागत क्षमतामा सुधार गरी गरिने उनको भनाइ थियो ।
यूकेएडको सीप कार्यक्रमका टीम लिडर बलजित भोराले उद्योगका उदीयमान कामहरूमा उक्त कामको लागि तयार भएको श्रमशक्तिको विकास गर्नको लागि प्रशिक्षार्थीमा आधारित सीप तथा रोजगार उपलब्ध गराउने उद्योगको पहलको प्रतिविम्ब संघ र सीपबीचको साझेदारी रहेको बताए । यस साझेदारीमार्फत जगदम्बाजस्ता साझेदार कारखानामा महिला कामदारहरूको नियुक्तिमा उल्लेख्य वृद्धि गरेको छ, जहाँ तालिम प्रदान गरिएका तथा नियुक्त गरिएका व्यक्तिहरूमा ३५ प्रतिशत महिला छन् ।
बेलायती सरकारको आर्थिक सहयोगमा सञ्चालन भइरहेको यूके एडको सीप कार्यक्रमले नवीन च्यालेन्ज फन्ड तथा प्राविधिक सहायता व्यवस्थाको प्रयोग गरी रोजगारीसँग सम्बन्धित सीप विकास, सुपथ मूल्यमा वित्तीय सेवाहरु तथा नेपाली युवाहरूको लागि स्थायी प्रकृतिको जीवनस्तर हासिल गराउनको लागि नैतिकवान् आप्रवासन सेवाहरूको विस्तार गर्छ । ती व्यवस्थाले विशेष गरी महिला, आप्रवासनबाट फर्किएका तथा अन्य आर्थिक सामाजिक रूपमा बाहिर पारिएका समूहहरूलाई लक्षित गरेको छ ।
हालसम्म १३ वटा उद्योगले नेतृत्व गरेका साझेदारीमा यूके एडको सीपले उत्प्रेरित गर्ने तथा सह लगानी गरेको छ । जसबाट सन् २०२१ सम्म ४० हजार युवाहरूलाई रोजगारी/स्वरोजगारी प्रदान गर्न सक्ने वातावरण बनाउने सम्भावना रहेको छ । निजी क्षेत्रबाट बेलायती पाउन्ड एक करोड २० लाखको लगानी प्रतिबद्धता हासिल गरेको छ । संघलगायत अन्य उद्योगसँग यूके एडको सीपले अब रोजगारदाताको नेतृत्वमा सीप विकास, प्रशिक्षार्थीको तालिम तथा रोजगारी सिर्जना गर्ने नमूनाहरुको विस्तार गर्ने लागिरहेको छ ।