काठमाडौं ।
निर्वाचन आयोगले जेठ ६ गते बिहीबारका दिन हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ जिल्ला निर्वाचन कार्यालय भवनमा शुक्रबार प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको हो ।
प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले प्रदेश निर्वाचन कार्यालयको शुभारम्भ गरेका थिए । यस्तै निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदान केन्द्र पनि तोकेको छ ।
सोअनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी माविलाई मतदानस्थल तोकिएको आयोगले जनाएको छ । उक्त मतदानस्थलमा प्रदेशसभा सदस्य एक सय १० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय ३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको आयोगको भनाइ छ ।
यसैगरी शुक्रबार नै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
आयोगका अनुसार वैशाख २१ गतेदेखि मतदाता नामावली प्रकाशन तथा नाममा संशोधन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । निर्वाचनमा वाग्मती प्रदेशसभाका सदस्य एक सय १० र प्रदेशका १३ वटै जिल्लाका एक सय १९ स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ३८ गरी कुल तीन सय ४८ मतदाता रहेका छन् । तत्कालीन राष्ट्रियसभा सदस्य रामबहादुर थापा सदस्यबाट मुक्त भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।