काठमाडौं ।
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा छ हजार छ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । तीमध्ये एक हजार आठ सय ५४ भरिएका र चार हजार आठ सय पाँच खाली सिलिन्डर छन् ।
संकलन गरिएका सिलिन्डरमध्ये पाँच हजार दुई सय ९३ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका एक हजार तीन सय ६६ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिनेछ । कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ ।
आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघ÷संस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार वितरण गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको हो ।