अमेरिका ।
अमेरिकाको ठूलोमध्येको एउटा इन्धन पाइपलाइनले ह्याकरलाई ५० लाख अमेरिकी डलर तिरेको खुलेको छ । बीबीसीका अनुसार साइबर आक्रमणकारी डार्कसाइडलाई उक्त रकम तिरेको खुलासा भएको हो ।
कोलोनियल पाइपलाइनमा गत सप्ताहान्तमा ¥यान्समवेयर आक्रमण भएको थियो । ह्याकरले पाइपलाइनको सबै सेवा पाँच दिनसम्म आफ्नो नियन्त्रणमा लिएका थिए । योसँगै अमेरिकाभर इन्धन आपूर्ति प्रणालीलाई नै असर गरेको थियो ।
अमेरिकी मिडियाहरु सीएनएन, न्युयोर्क टाइम्स, ब्लुमबर्ग र वालस्ट्रिट जर्नलले पाइपलाइनले पैसा तिरेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेका छन् । कोलोनियलले भने यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
गत शुक्रबार जापानी प्रविधि कम्पनी तोशिबाले पनि फ्रान्सस्थित आफ्नो युरोपेली डिभिजनमा सोही साइबर आक्रमणकारीले निशाना बनाएको उल्लेख गरेको थियो ।
साइबर आक्रमणपछि कोलोनियलले गत बुधबार आफ्ना अपरेसनहरु पुनः सञ्चालनमा आउने बताएको थियो । तर आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किन भने अझै समय लाग्ने बताएको थियो । यो पाइपलाइन आठ हजार नौ सय किमि लामो छ । यसले एक दिनमा २५ लाख ब्यारेल तेल बोक्छ ।