काठमाडौं ।
नेपालमा युवा उमेरमा कोरोना संक्रमणको दर उच्च देखिए पनि मृत्यु भने ६० वर्षभन्दा माथिका उमेर समूहमा धेरै देखिएको छ । यसले नेपालका युवा समूहमा कोभिड प्रतिरोधी क्षमता बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म कोभिड–१९ बाट नेपालभित्र पाँच हजार आठ सय ४७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी ६० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिहरुको संख्या अधिक छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म ६० वर्ष वा सोभन्दा बढी उमेर समूहका तीन हजार दुई सय १९ जनाको मृत्यु कोरोनाबाट भएको छ भने दोस्रो उमेर समूहमा ५० देखि ५९ वर्षका छन् । सो समूहका एक हजार ९१ जनाको मृत्यु कोरोनाको कारण भएको छ । तेस्रोमा ४० देखि ४९ वर्ष उमेर समूहका छन् । सो समूहका आठ सय २० जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका चार सय ९२ जनाको मृत्यु भएको छ । उक्त मृत्युदर कुल मृतकको आठ दशमलव ४१ प्रतिशत मात्र हो । तर, यो उमेर समूहमा कोभिड लाग्ने सबैभन्दा बढी छन् । स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार ३० देखि ३९ वर्ष उमेर समूहका युवामा सबैभन्दा बढी कोरोना लागेको छ । बिहीबार कोरोना पुष्टि भएका आठ हजार तीन सय पाँच जनामध्ये एक हजार नौ सय ३२ जना त ३० देखि ३९ वर्ष उमेर समूहका छन् ।
बिहीबार नै दोस्रो धेरै कोरोना लाग्ने उमेर समूहमा २० देखि २९ वर्षका युवा छन् । उक्त उमेर समूहका एक हजार आठ सय १८ जना र ४० देखि ४९ वर्ष उमेर समूहका तेस्रो बढी संक्रमितमा पर्छन् । उक्त उमेर समूहका एक हजार चार सय १५ जना र ५० देखि ५९ उमेर समूहका एक हजार एक सय ७० जना, ६० देखि ६९ वर्ष उमेर समूहका छ सय ६४ जना, १० देखि १९ वर्ष उमेर समूहका पाँच सय २९ जना, ७० देखि ७९ वर्ष उमेर समूहका तीन सय तीन जना, नौ वर्षसम्मका दुई सय २७ जना, ८० देखि ८९ उमेर समूहका एक सय १२ जना, ९० देखि एक सय वर्षसम्मका २७ जना र उमेर नखुलेका ३० जनालाई कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २० देखि २९ वर्ष उमेर समूहका एक सय ६३ जना, १० देखि १९ वर्ष उमेर समूहका ३२ जना र नौ वर्षसम्मका ३० जना गरी पाँच हजार आठ सय ४७ जनाको मृत्यु भइसकेको छ । नेपालमा बिहीबारसम्म आईसीयुमा रहेका कोभिड–१९का बिरामीको संख्या एक हजार सात सय ४८ जना र भेन्टिलेटरमा रहेकाहरुको संख्या चार सय ९२ जना छन् । यी बिरामीलाई अति जोखिमपूर्ण रुपमा हेरिएको छ ।
नेपालमा बिहीबार मात्र कोरोनाबाट एक सय ९० जनाको मृत्यु भएको पुष्टि भएको छ । बिहीबारसम्म नेपालमा एक लाख १५ हजार आठ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित छन् । बिहीबार निको भएर छ हजार पाँच सय ४३ जना घर फर्किएका बिहीबार निको हुनेको प्रतिशत ७५ दशमलव एक पुगेको छ । बुधबार निको हुनेको प्रतिशत ७५ मात्र थियो भने मंगलबार निको हुनेको प्रतिशत ७४ दशमलव छ प्रतिशत मात्र थियो ।
नेपालमा कोरोना सुरु भएपछि बिहीबारसम्म २८ लाख ५५ हजार सात सय ९३ वटा परीक्षण भएको छ । कतिपयको अधिकांशको दुई र कतिपयको तीन तथा चार पटकभन्दा बढी पनि कोरोना परीक्षण भएको छ । पीसीआर परीक्षण गरिएकामध्ये १७ दशमलव एक प्रतिशतमा भने कोरोना देखिएको छ ।
बिहीबारसम्म काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २४ हजार तीन सय ८९ जना, भक्तपुरमा चार हजार सात सय ८३ जना र ललितपुरमा छ हजार आठ सय ९५ जना कोरोना संक्रमित छन् ।