काठमाडौं ।
युनिलिभर नेपाल लिमिटेडले कोभिड–१९ को लडाइँमा विभिन्न संघ÷संस्थामार्फत सहयोग गरेको छ । कम्पनीले स्वास्थ्य सुधार र भलाइलाई केन्द्रित गरी विभिन्न युनिलिभर कम्पास रणनीतिहरु सञ्चालन गर्दै आएको छ ।
कोभिड–१९ महामारीविरुद्धको लडाइँमा कम्पनीले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी मेडिकल तथा आपत्कालीन उपकरणहरु जिल्ला प्रशासन कार्यालय हेटौँडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल, छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको जनाएको छ । कम्पनीले हालसम्म एक सय २८ थान अक्सिजन कन्सन्ट्रेटर्स, १५ सय थान एन–९५ मास्क, ३४ सय थान सर्जिकल ग्लोभ्स, दुई हजार थान जुत्ताकभर, दुई हजार थान वर्किङ क्याप र दुई सय थान मेडिकल गग्गल सहयोग गरेको जनाएको छ ।
उक्त उपकरण तथा सामानहरु मेडिकल क्षेत्रमा अग्र स्थानमा रही आफ्नो ज्यान जोखिममा राखी काम गर्ने मेडिकल कर्मचारीलाई भाइरसबाट रोकथाम तथा उपचारका लागि अत्यन्तै आवश्यक मेडिकल उपकरणहरु रहेको कम्पनीले जनाएको छ । यस्तै कम्पनीले मकवानपुर (हेटौंडा) मा अक्सिजन प्लान्ट स्थापना गर्न उल्लेखनीय आर्थिक सहयोग गरेको छ । युनिलिभरले लाइफबोय ब्राण्डलाई लिएर महामारीमा जनचेतना जगाउन विभिन्न अभियानसमेत सञ्चालन गरेको थियो ।