काठमाडौं ।
सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै सोमबार सेयरबजारमा भारी गिरावट आएको छ । राजनीतिक अस्थिरता अझै बढ्ने संकेत देखिएपछि सेयरबजार परिसूचक ओरालो लागेको हो । सर्वोच्चको फैसला आउनुअघि सेयरबजार उकालो लागेको थियो । आइतबार पनि सेयरबजार उकालो लागेको थियो । सर्वोच्चको फैसलापछि सेयर खरिद गर्न राखेकाहरुले एकाएक आफ्नो माग हटाएका थिए । माग घट्दा सेयरबजार ओराले लागेको हो ।
सर्वोच्चले देउवालाई आज मंगलबार साँझसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरे पनि देउवा नेतृत्वको सरकारले स्थिरता पाउने सम्भावना कम छ । सर्वोच्चको फैसलापछि बसेको विपक्षीको बैठकमा नेकपा एमालेका नेता माधव नेपाल सहभागी भए पनि उनले उक्त गठबन्धनलाई साथ दिन नसक्ने र आफू अब फरक भूमिका रहने भनेपछि राजनीतिक अस्थिरता बढ्ने आकलन गरिएको छ । एमालेले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछैन । त्यसमा महन्थ ठाकुर र राजेन्द्र महतोको समूहको राजपाको पनि साथ रहने देखिएको छ ।
सर्वोच्चको आदेशका कारण प्रतिनिधिसभा पनि पुनर्स्थापना भएको छ । अब साउन ३ गतेसम्म प्रतिनिधिसभाको बैठक बोलाउनुपर्नेछ । माधव नेपाल पक्षले साथ नदिने भएपछि देउवा नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कम छ । यसले पनि नेपालमा राजनीतिक अस्थिरता बढ्ने संकेत गरेको छ ।
आइतबार ७४ अंकले उकालो लागेको सेयरबजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ४५ दशमलव छ अंकले ओरालो लागेर २८ सय ५४ दशमलव ७६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यस दिन आठ दशमलव ६२ अंकले ओरालो लागेर पाँच सय ३४ दशमलव ८१ अंकमा झरेको छ । धितोपत्र बजारमा यस दिन १३ वटा उपसमूहअन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ९२ हजार एक सय ९२ पटकको कारोबारमा दुई करोड ६० लाख २१ हजार एक सय चार कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही आधारमा यस दिन कुल कारोबार रकम नौ अर्ब ९८ करोड २६ हजार पाँच सय २७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुल उपसमूहमध्ये सामूहिक लगानी कोष उपसमूहको सूचक शून्य दशमलव शून्य दुई अंकले उकालो लागेको छ भने बाँकी समूहको सूचक उच्च अंकले ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २२ दशमलव पाँच अंकले ओरालो लागेर १९ सय ५० दशमलव सात अंकमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि ९७ दशमलव ९७ अंकले ओरालो लागेर चार हजार पाँच सय ७१ दशमलव ४५ अंकमा झरेको छ ।
यसैगरी जलविद्युत् उपसमूहको सूचक पनि ६० दशमलव १३ अंकले ओरालो लागेर २७ सय ४७ दशमलव ५६ अंकमा झरेकोमा फाइनान्स उपसमूहको सूचक पनि २१ दशमलव ७७ अंकले ओरालो लागेर २३ सय २४ दशमलव ८१ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि दुई सय ४० दशमलव ७१ अंकले ओरालो लागेर १४ सय ३७ दशमलव १९ अंकमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि दुई सय ५४ दशमलव ६७ अंकले ओरालो लागेर १७ हजार एक सय ५९ दशमलव ४५ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष उपसमूहहरुको सूचक पनि क्रमशः ६० दशमलव ६६, एक सय छ दशमलव ८८, एक सय १८ दशमलव ५४, ३१ दशमलव ५२, ७५ दशमलव ५२ र दुई दशमलव ८६ अंकले ओरालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको समृद्धि फाइनान्सको सेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले बढेर चार सय ४२ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कुमारी बैंक ऋणपत्र २०८६ को प्रतियुनिट सेयर मूल्य पनि तीन दशमलव ९४ प्रतिशतले बढेर ११ सय सात रुपैयाँमा कारोबार भएको छ । यी एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, मल्टीपर्पोस फिनान्स आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने पाँच दशमलव ३३ प्रतिशतले घटेर तीन सय ५५ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव २८ प्रतिशतले घटेर दुई सय ६९ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक ओरन्टल होटल लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यस दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त संस्थाको प्रतिकित्ता १५ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा ४७ करोड २६ लाख ५२ हजार नौ सय ५२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको पनि प्रतिकित्ता नौ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड ९१ लाख ५९ हजार नौ सय ३० रुपैयाँको कारोबार भएको छ ।
यीबाहेक राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, छिमेक लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । नेप्सेका अनुसार यस दिन महालक्ष्मी विकास बैंकको आठ दशमलव आठ प्रतिशतको अनुपातमा २७ लाख तीन हजार चार सय १३ दशमलव ९६ कित्ता बोनस सेयर नियमित कारोबारको लागि नेप्सेमा सूचीकृत भएका छन् ।