लन्डन । युरोपेली संघले सन् २०३५ सम्ममा प्रदूषण गर्ने सवारीसाधनको बिक्री अन्त्य गर्ने योजना घोषणा गरेको छ । संघले हाइब्रिड कारलाई समेत लोपोन्मुख सूचीमा राख्न सक्ने गरी पूर्ण विद्युतीय मोडलमा समाहित हुने महत्वाकांक्षी योजना घोषणा गरेको हो ।
युरोपेली आयोगले बुधबार मात्रै अटो उद्योगलाई नयाँ कारको औसत कार्बन उत्सर्जन सन् २०३० सम्ममा ५५ प्रतिशत कटौती गर्न अनिवार्य गर्ने बताएको छ । त्यसको पाँच वर्षमा कार्बन उत्सर्जन शतप्रतिशत कटौती गर्नैपर्ने भएसँगै सन् २०३५ पछि दर्ता हुने सबै कार शून्य उत्सर्जनयुक्त हुनुपर्नेछ ।
संघ छोडेको बेलायतले पनि यस्तैखाले प्रतिबद्धता जनाइसकेको छ । नयाँ लक्ष्य अहिलेको ईयूको नयाँ कारमा ३७.५ प्रतिशत कटौतीको लक्ष्यभन्दा निकै ठूलो फड्को हो । यो उद्देश्य सन् २०१८ डिसेम्बरमा तोकिएको थियो । यो उद्देश्यले युरोपेली संघले सन् १९९० को स्तरको तुलनामा २०३० सम्म कम्तीमा ५५ प्रतिशत ग्रिनहाउस ग्यास उत्सर्जन कटौतीको लक्ष्यतिर लम्किएको देखिएको छ ।
युरोपले सन् २०५० मा जलवायु तटस्थ पहिलो महादेश बन्न चाहेको छ । तर विद्युतीय कारमा समाहित हुनका लागि युरोपका २७ देशले सवारीसाधन चार्जिङ क्षमता विस्तारलाई बढावा दिनुपर्नेछ । चार्जिङ प्वाइन्टहरु समेत हरेक ६० किमिमा मुख्य राजमार्गमा हुनुपर्नेछ भने पेट्रोल र डिजेलको करदर उच्च बनाउनुपर्नेछ ।
युरोपेली अर्थतन्त्रमा अटो उद्योागले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा यसले सात प्रतिशत हिस्सा ओगट्नुका साथै एक करोड ४६ लाख रोजगारी सिर्जना गरेको छ । तर यातायात क्षेत्रमा ग्रिनहाउस ग्यास उत्सर्जन बढिरहेको छ । सन् २०१७ मा मात्रै सडक सवारीसाधनले कार्बन उत्सर्जनमा २१ प्रतिशत हिस्सा ओगटेको थियो ।
पछिल्लो समय कार उत्पादकहरुले पनि विद्युतीय कारमा महत्वपूर्ण योजनाहरु सार्वजनिक गरिरहेका छन् । चर्चित कार ब्रान्ड फक्सवागनले सन् २०३० सम्ममा आफ्नो कुल बिक्रीको ५० प्रतिशत हिस्सा विद्युतीय सवारीसाधनले ओगट्ने मंगलबार जनाएको थियो । उसले सन् २०४० सम्ममा शून्य उत्सर्जनयुक्त सवारीसाधन मुख्य बजारहरु अमेरिका र चीनमा बिक्रीको योजना बनाएको छ ।
त्यस्तै फोर्डले पनि सन् २०३० सम्ममा युरोपमा सबै विद्युतीय पेसेन्जर भेहिकल बिक्री गर्ने योजना घोषणा गरेको छ । यसबाहेक रेनो, भोल्भो, बीएमडब्ल्यू र मर्सिडिज बेन्जको मातृकम्पनी डायम्लरले स्वच्छ कार उत्पादन प्रवद्र्धन गर्ने आआफ्नै योजना सार्वजनिक गरिरहेका छन् । तर धेरै कार उत्पादकले संघको लक्ष्य भेट्टाउन आफ्नो योजनालाई तीव्रता दिनुपर्ने हुन्छ ।