काठमाडौँ । असार २९ गते प्रधानमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । असार २८ गतेको सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिनिधिसभामा उपस्थित दुई सय ४९ मध्ये देउवाले एक सय ६५ सांसद्को विश्वासको मत पाएका छन् भने विपक्षमा ८३ मत परेको छ । एक मत तटस्थ बस्दा २२ जना सांसद भने संसद्मा उपस्थित थिएनन् ।
प्रतिनिधिसभामा कायम रहेका कुल दुई सय ७१ सांसदमध्ये देउवाले एक सय ६५ अर्थात् ६० प्रतिशतभन्दा बढी सांसदको विश्वास पाएका हुन् भने आइतबार संसद्मा उपस्थित सांसद्को ६६ प्रतिशत मत पाएका छन् ।आइतबार विश्वासको मत दिने क्रममा नेकपा एमालेमा माधव कुमार नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरुले पनि दलीय निर्देशन उल्लंघन गर्दै देउवालाई विश्वासको मत दिएका छन् । यसले नेकपा एमालेमा ओलीलाई झनै कमजोर बनाउने काम गरेको छ ।
ओली पक्षले देउवालाई विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिँदै विश्वासको मत दिने सांसदहरु एमालेमा नरहने जनाएको थियो । कतिपय सांसदहरुले एमालेमा नरहने संकेत गर्दै देउवालाई विश्वासको मत दिएका छन् ।संसद्मा उपस्थित दलमध्ये नेकपा एमालेको ओली पक्ष र नेपाल मजदुर किसान पार्टीले देउवालाई मत दिएन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंग्देनले पक्ष÷विपक्षमा मत नदिई तटस्थमा आफ्नो मत जाहेर गरेका थिए । ६० प्रतिशत बढी मत आएको कारण संघीय संसद् पूर्ण कार्यकाल जीवित रहने देखिएको छ । यो संसद्को कार्यकाल अब करिब १७ महिना बाँकी छ ।
२०७२ असोजमा संविधान जारी भएपछि २०७४ मंसिरमा आमनिर्वाचन भएको थियो । आइतबार सांसदहरुको मत जाहेरको अवस्था हेर्दा तत्काल निर्वाचनमा जाने भन्ने ओलीको चाहनामा कुनै पनि दल सहमत छैनन् भन्ने देखाएको छ ।विश्वासको मतमा अधिकांश दलको सहयोग रहेको कारण देउवा नेतृत्वको सरकार विस्तारमा पनि यस्तै सहयोग हुने देखिएको छ । मन्त्री बन्नका लागि लुछाचुँडी भएमा मात्र सरकारको स्थायित्वमाथि प्रश्न उठ्ने गर्छ । देउवालाई बहुमत मात्र पुगेको भए सांसदहरुले धम्क्याएर मन्त्री बन्न पाउने थिए । उनलाई ६० प्रतिशत बढी मत प्राप्त भएको कारण सरकार विस्तारमा सहजता हुने देखिएको छ ।
अहिले विश्वासको मत दिएका दलहरुलाई तत्काल मत फिर्ता लिन समस्या पर्ने भएको कारण देउवाको प्रधानमन्त्रीको कार्यकाल देउवा, नेपाल र प्रचण्डबीचको सहमतिअनुसारको पूरा समय चल्ने देखिएको छ ।देउवाले विश्वासको मत पाएसँगै नेकपा एमालेमा ठूलो विद्रोह हुने पक्का भएको छ । एमालेमा अध्यक्ष ओली पक्षका सांसदहरुले एकाएक कित्ता परिवर्तन गर्नुमा तीन नेताबीच भएको गोप्य सहमति माधव नेपालले चुहाएको आशंका कांग्रेसका केही नेताहरुले गरेका छन् ।
प्रतिनिधिसभा जोगाउन माधव नेपालले महत्वपूर्ण भूमिका खेलेको कारण यो संसद्को पाँच वर्षे कार्यकाल पूरा भएपछि हुने आम निर्वाचन गराउने सरकारको नेतृत्व नेपाललाई दिन देउवा र प्रचण्ड सहमत भएको स्रोतको दाबी छ । एमालेमै रहँदा अध्यक्ष ओलीले सांसद् पद खाइदिने भएको कारण देउवाले कानुनी रुपमै दल विभाजन गर्नेसम्बन्धी सजिलो प्रावधान राखेर कानुन निर्माण गरिदिने स्रोतको दाबी छ । संसद्मा बहुमत भएको कारण त्यस्तो कानुन पास गर्न देउवा सरकारलाई खासै समस्या पर्नेछैन । अर्को दलको मान्यता पाएपछि नेपालको सांसद पद गुम्नेछैन । प्रतिनिधिसभा सदस्य कायम भएको व्यक्ति प्रधानमन्त्री बन्न पाउने भएको कारण चुनावी सरकार आफ्नो नेतृत्वमा बन्ने आश्वासन नेपालले एमाले सांसदहरुलाई दिएका छन् । त्यही कारण एमालेका सांसदहरु ओलीलाई छाडेर नेपाल पक्षमा गएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवा र प्रचण्डले पनि माधव नेपाललाई प्रतिनिधिसभा बचाउने नेता भन्दै उनलाई सहयोग गर्ने आश्वासन सार्वजनिक रुपमै दिँदै आएका छन् । देउवाले लाभको पदमा पनि माधव नेपाल पक्षलाई धेरै स्थान दिने देखिएको छ । एमालेका नेताहरुलाई विभाजन गराएर अर्को दल बनाउन सकिएमा आगामी निर्वाचनमा कांग्रेस ठूलो दल हुने देउवाको अनुमान छ भने माधव नेपाल ठूलो समूहसहित आएमा आफूहरुको समेत मत जोड्दा निर्वाचनमा राम्रो स्थान ल्याउन सकिने प्रचण्डको पनि आकलन छ । त्यही कारण अहिले एमाले विभाजन गर्न जतिसुकै शक्ति लगाउने विषयमा देउवा र प्रचण्डबीच पनि कुरा मिलेको छ । माधव नेपाल समूहको पार्टी र आफ्नो पार्टी एक भएमा निर्वाचनमा दोस्रो दल हुने अनुमान प्रचण्डको छ । अब एमालेका नेताहरुलाई क्रमशः आफ्नो समूहमा ल्याउने नीति नेपाल र प्रचण्डले बनाएका छन् ।
एकले अर्को दललाई कमजोर पार्ने रणनीति चलिरहे पनि सरकारको स्थायित्वमा भने प्रश्न उठ्ने सम्भावना कम भएको कारण स्थायी सरकारले खस्किँदो अर्थतन्त्रलाई उकास्ने ठूलो अपेक्षा गरिएको छ । कम्तीमा डेढ वर्ष स्थायी सरकार र बहुमतका लागि खासै दौडधूप गर्नु नपर्ने भएका कारण अर्थतन्त्र सुधार हुने अपेक्षा गरिएको छ ।
एमालेको २२ मत देउवालाई
प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् । एमालेका केही सांसदले देउवालाई मत दिएका थिए भने केही सांसद संसद्मा उपस्थित थिएनन् । देउवालाई मत दिने एमालेका २२ सांसदहरुमा माधव कुमार नेपाल, विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ्ग, मुकुन्द न्यौपाने, हिरा केसी, पार्वती विशुंखे, कृष्ष्ण कुमार श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, बिना बुढाथोकी, पुष्पाकुमारी कर्ण, सरला यादव, लक्ष्मी चौधरी, निरादेवी जैरु, कृष्णलाल महर्जन, सविना हुसेन, रामकुमारी झाँक्री र कलिला खातुन छन् ।
रावलले दिए राजीनामा
नेकपा एमालेका उपाध्यष डा. भीमबहादुर रावलले सांसद् पदबाट राजीनामा दिएका छन् । एमालेका केही सांसदहरुले शेरबहादुर देउवालाई मत दिने भएपछि यसले पार्टी विभाजन गर्ने भन्दै रावलले राजीनामा दिएर पक्ष वा विपक्षमा नलाग्ने घोषणा गरेका हुन् । रावलले राजीनामा दिए पनि देउवालाई मत नदिने भनेर घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, झपट रावल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण प्रसाद खतिवडा, गोकर्ण विष्ट, राजबहादुर बुढालगायतले भने ससद् बैठक बहिष्कार गरेका थिए । बहिष्कार गर्नेहरु सबै माधव नेपाल पक्षका हुन् ।