काठमाडौं । पूर्वी भेगका उद्योगीहरूले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरूले विद्युत् आपूर्तिमा भोगिरहेका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरूले उक्त समस्या तत्काल समाधान गर्नको लागि आवश्यक कदम चाल्न अनुरोध गरेको छन् ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र ऊर्जा सचिव देवेन्द्र कार्कीलाई भेटी कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रहरूमा ३३ केभिए लाइन जडान रहे पनि हाल विद्युत् आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्युत् आपूर्ति भइरहेका कारण उद्योगहरू सञ्चालन गर्न कठिनाइ भइरहेको तथा अधिकांश उद्योगहरूले उत्पादन कटौती गर्न बाध्य भएको बताएका थिए ।
भेटमा अध्यक्ष मुन्दडाले वर्षायाममा मर्मत सम्हारका कार्यहरू समेत सुस्त हुँदा अवस्था जर्जर हुँदै गएको र ती समस्याहरूका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह्रास आई अर्बौँको निर्यात प्रभावित भएको तथा राजस्व समेत गुमिरहेको जानकारी दिए ।
उक्त समस्याहरूको शीघ्र निराकरणका लागि ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिएका थिए । साथै उनले विद्युत् महशुल र डिमान्ड शुल्कको दरमा लगातारको वृद्धिका कारण उद्योगहरूको लागत खर्च बढेको र त्यसको भार उपभोक्ता वर्गलाई समेत परिरहेको बताए । औद्योगिक उत्पादनका लागत खर्च न्यूनीकरण र गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्थापनका लागि समेत उनले ऊर्जामन्त्रीसँग अनुरोध गरे । प्रतिनिधिमण्डलमा अध्यक्ष मुन्दडासहित पूर्वअध्यक्ष महेश कुमार जाजू, निवर्तमान अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष नविन रिजालको सहभागिता रहेको थियो ।