काठमाडौं । ज्योति विकास बैंकले शनिबार स्थापनाको १३औँ वार्षिकोत्सव मनाएको छ । हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरू र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको जानकारी दिएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष हरिप्रसादले समारोहको अध्यक्षता गरेका हुन् । साथै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी ध्रुव उप्रेती र संस्थापक सेयरधनी तथा भूतपूर्व अध्यक्ष ध्रुवकुमार भट्टराईको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजना– २ को लागि सहयोग प्रदान गरेको छ ।
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउन बैंकले सहयोग गर्नेभएको हो । बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरू सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले राष्ट्रिय आविष्कार केन्द्रको न्यानो नानी परियोजनाको लागि १० लाख २० हजार प्रदान गरेका थिए । कार्यक्रममा अध्यक्ष हरिप्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गर्दै अबको यात्रामा पनि सोहीअनुरूपको सहयोग प्रदान गर्न आह्वान गरे ।
साथै अध्यक्ष प्रसादले बैंकले समाजमा उद्यमी क्षमताको विकास गर्न सधैँ क्रियाशील रहने र समाज तथा नागरिकबाट प्राप्त सुझावहरूलाई अनुसरण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले नेपाललाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन उद्यमशीलता विकास गर्नुपर्ने, त्यस्तो उद्यमशीलता प्रवद्र्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रले प्रयास गरिरहेको र त्यस्तो प्रयासलाई प्रोत्साहन गर्दै बैंकले गरेको सहयोग उदाहरणीय रहेको विचार व्यक्त गरे ।
१३औँ वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति परिवर्तनकारी कर्जा नामक कर्जा योजना सार्वजनिक गरेको छ । उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मूल्यांकन तथा न्यूनतम कागजातसहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरूको लागि ल्याएको हो ।
वार्षिकोत्सवकै अवसरमा बैंकले शून्य मौज्दातमा बचत, डिम्याट र मेरो सेयर एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ खाता तथा ज्योति कन्ट्याक्टलेस कार्ड पनि सार्वजनिक गरेको छ । सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद, प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा नायब महाप्रबन्धक सुशीलकुमार शर्माले संयुक्तरूपमा कर्मचारीहरूलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूरदृष्टि, ध्येय र मूल्य मान्यताहरूको अधिनमा रही बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरिकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराँउदै आएको जानकारी दिएको छ ।