डोटी । कोरोना कहर तथा बजेट अभावका कारण जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम निर्माण कार्य सुस्ताएको छ । विसं २०७६ माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण कार्य सुरुमा निकै तीव्ररुपमा भए पनि अहिले पुनः सुस्ताएको छ । कुल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माणकार्य सुरु गरिए पनि बजेट अभाव तथा कोरोना कहरका कारण मजदुर नपाउँदा काममा ढिलाइ भएको स्थानीयवासी तीर्थराज भण्डारीले जानकारी दिए । उनका अनुसार बजेट अभावले औद्योगिक ग्रामभित्र निर्माण गर्न सकिने उद्योगको अवस्थालाई मध्यनजर गर्दै कम्तीमा पनि पाँच सय रोपनीसम्म जग्गा लिने काम पनि रोकिएको छ ।
औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच विसं २०७६ फागुन १६ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोतसाधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु-याउने सरकारको उद्देश्यअनुसार उक्त औद्योगिक ग्राम निर्माण गरिन लागिएको हो । पछिल्लो सयम काम पूर्णरुपमा ठप्प भएपछि यहाँका नागरिकमा निराशा छाएको जोरायल गाउँपालिका–२ का स्थानीयवासी लोकबहादुर मल्लले बताए ।
उनले भने, ‘औद्योगिक ग्राम बने सबैले रोजगारी पाउलान् भन्ने आशा थियो, अहिले एका–एक काम रोकिएको छ, सबै निरासामा छन् ।’ उक्त ग्राम निर्माणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा ९२ लाख रुपैयाँ निकासा आएकोमा गएको वर्षसम्म कम्तीमा पनि ८३ लाख ६० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । उक्त रकमबाट औद्योगिक ग्राम क्षेत्रमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायतका संरचनाको निर्माणको काम भए पनि अहिले ती काम पनि अधुरै रहेका छन् । ‘बहुवर्षीय योजना भएका कारण बाँकी काम आगामी वर्षमा हुने योजनाअनुसार काम अगाडि बढाएका थियौँ कोरोना कहर र आर्थिक अभावले अहिले काम रोकियो’, गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भने, ‘कोरोना र आर्थिक अभावले काम सुस्ताए पनि औद्योगिक ग्राम निर्माण हुन्छ, आत्तिनुपर्ने अवस्था छैन ।’
उक्त औद्योगिक ग्राम स्थापनाको लागि गाउँपालिकाले लामो समयदेखि पहल गरेको उनको दाबी छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला प्रवेश गर्ने एक मात्र पहाडी प्रवेशद्वारको रुपमा रहेको बुडरस्थित धारापानीमा निर्माण हुने औद्योगिक ग्राम नमूनाको रुपमा विकास गरिने योजना भए पनि अहिले आएर काम रोकिएपछि नागरिक चिन्तित् बन्न थालेको अर्का स्थानीयवासी तुलाराम साउदले बताए । उनले भने, ‘बुडरमा औद्योगिक ग्राम स्थापना भए जोरायल गाउँपालिकाका साथै छिमेकी जिल्ला डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिका तथा कैलालीको चुरे गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेथिए, अहिले किन हो काम रोकियो, सबैलाई निराश बनायो ।’ जिल्लामा कोरोना त्रास कायमै रहेको र केही आर्थिक अभाव र मजदुर नपाउँदा काममा केही सुस्तता आएको निर्माण कम्पनीको दाबी छ ।