काठमाडौं । वनको कारण रोकिएको काठमाडौँ तराई–मधेश द्रुतमार्ग आयोजनाको काम अब पुनः सुरु हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मकवानपुरको कालभैरव र गौरीशंकर सामुदायिक वनमा परेका पाँच दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख कटाउन स्वीकृति दिने निर्णय गरेपछि उक्त आयोजनाको सुरुङमार्ग र सडक निर्माणको लागि वनबाट भएको अवरोध हट्ने भएको हो ।
नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं–निजगढको ७५ दशमलव पाँच किलोमिटर लामो उक्त सडक नेपाली सेनाले २०८१ सालसम्म निर्माण पूरा हुने लक्ष्य राखेको छ । सेनाले विभिन्न प्याकेजको ठेक्का लगाएर धमाधम काम गरिरहे पनि उक्त क्षेत्रमा वनको कारण काम अगाडि बढ्नसकेको थिएन ।
यस्तै, बिहीबारको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ । शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै, सरकारले यही भदौ ७ गते पर्ने गाईजात्रा पर्वमा यसअघि काठमाडौँ उपत्यकाका लागि मात्र सार्वजनिक विदा दिँदै आएकामा सो अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यस्तै बैठकले यही भदौ १४ गते कृष्णजन्माष्टमी पर्वमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । बैठकले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव डिल्लीराम शर्मालाई राजपत्रांकित विशिष्ट श्रेणी सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।