काठमाडौं । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को शुक्रबार सम्पन्न गाला राउन्डको तेस्रो चरणबाट उत्कृष्ट १५ जनाको छनौट गरिएको हो ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलालको ६० अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत प्राप्त ४० अंकबाट १५ जना उत्कृष्ट प्रतिस्पर्धी छानिएका हुन् । १५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबीएम (युएई), सुरेन घताङ ‘शिव’ (कोरिया) रहेका छन् । त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्यान्ड), सागर विश्व सेञ्चुरी (कुबेत), रामचन्द्र राई (कतार), कृष्ण खबास (युएई), प्रतिक सीडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङ्दान (बहराइन) उत्कृष्ट २० मा परेका छन् ।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् । शुक्रबार सम्पन्न गाला राउन्डको तेस्रो चरणमा २० जना प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए । ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने पाँच जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिनेछ ।