विराटनगर । कोभिड १९ को महामारीका बाबजुद पनि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरूबाट उत्पादन हुँदै आएको पाम तेलको निकासीमा एक हप्तादेखि भारत सरकारको डिपार्टमेन्ट अफ रेभ्युन्यु (आईआरडी)को अदूरदर्शी निर्णयका कारण निकासीमा अवरोध सिर्जना भएको स्थानीय उद्योगी तथा व्यवसायीले जानकारी दिएका छन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुँदै आएका पाम आयल उत्पादन गर्ने छवटा उद्योगहरूले नेपालबाट पाम तेलको निर्यात गर्दै आएका थिए । तर गत हप्ता मात्र नेपालबाट पाम तेल लिएर भारत गएका केही गाडीलाई बीचबाटोमा रोकी भारतीय आईआरडीको टोलीले चेकजाँच गर्न थालेपछि नेपालबाट निर्यात हुँदै आएको पाम तेल निकासीमा समस्या भएको एक उद्योगीले बताएका हुन् ।
उता भारतीय आईआरडीका एक जिम्मेवार कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने सर्त राख्दै भारतीय पत्रकारलाई दिएको जानकारीअनुसार नेपाली पाम उद्योगले भारत निकासी गर्दै आएको पाम तेलको टिनमा अरु कुनै वस्तु निकासी गर्दै आएको भन्ने भरपर्दो सूचना प्राप्त भएपछि केही भारततर्फ निकासी हुँदै आएका पामका गाडी चेकजाँच मात्र गरेको जानकारी दिएको भारतीय पत्रकारले आर्थिक दैनिकलाई जानकारी दिए । ती कर्मचारीले आफूहरूले पाएको सूचनाका आधारमा चेकजाँच गर्दा अहिलेसम्म कुनै नेपालबाट निकासी हुँदै आएको गाडीको पाम तेलमा त्यस्तो शंकास्पद वस्तु फेला नपारेको जानकारी आफूलाई दिएको कुरा ती भारतीय पत्रकारको भनाइ छ । तर आईआरडीले नेपालबाट निकासी हुँदै आएको पाम तेलको हकमा निगरानी व्यापक बडाएको सुनसरी मोरङ औद्योगिक करिडोरका एक उद्योगीले बताएका छन । पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन रहेका पाम आयल उद्योगहरूले साफ्टा सुविधाअन्तर्गत नेपालमा आयात हुँदै आएकोे ठूलो परिमाणको प्रशोधित पाम तेल भारत निकासी गर्दै आएको जानकारी पनि ती उद्योगीले दिएका छन् ।
कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका सुनसरी मोरङ औद्योगिक करिडोरका पाम उद्योगहरूले संक्रमणमा केही कमी आएसँगै उद्योगमा पनि कच्चापदार्थ भरिएको र अरु आयातको चरणमा कच्चापदार्थ रहेको जानकारी ती उद्योगीले दिएका छन् । नेपालमा इन्डोनेसिया र मलेसियाबाट पामको कच्चा तेल भित्रिन्छ । गत आर्थिक वर्षमा मात्र नेपालबाट निकासी हुने वस्तुहरूमध्येमा पाम तेलले मात्र अर्बौं रूपैयाँको राजस्व बुझाएर पाम तेल नेपालबाट भारततर्फ निर्यात गरेको जानकारी पनि ती उद्योगीले दिएका छन् ।
पछिल्लो समय भारत सरकारको आईआरडी टोलीबाट नेपालमा उत्पादन हुँदै आएको पाम तेल निकासीमा समस्या सिर्जना गर्न थालेपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुँदै आएका पाम उद्योगको भविष्य के हुने भन्ने चिन्ता बढेको कुरा पाम उद्योगीले बताएका छन् ।