काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रूपैयाँको लागतमा आठतले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठतले भवन बनाउन लागेको हो । अस्पतालका संस्थापकको नाममा ‘माउ बद्री’ भवन निर्माण गर्न लागेको हो ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले उक्त भवनको संयुक्त रूपमा सिलान्यास गरेका छन् । सिलान्यास कार्यक्रममा मेयर शाक्यले क्षत्रपाटी निःशुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताउँदै रकम अभावका कारण भवन निर्माणसम्बन्धी कार्य नरोकिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यहाँ वडा अध्यक्षज्युहरू, उपमेयरज्यू र छौं, फेरि पनि जितेर आउने हामीमध्येबाटै कोही हुन्छ, त्यसैले जनताको सेवा गर्ने क्षत्रपाटी चिकित्सालयले रकम अभावमा काम गर्न पाइनँ भनेर गुनासो गर्ने ठाउँ दिन्नौं ।’ मेयर शाक्यले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने बित्तिकै प्रतिफल आउने नभई वर्षौँपछि प्रतिफल आउने हुँदा जनताको सेवामा समर्पित अस्पतालको लागि काठमाडौँवासीले तिरेको कर, जनतालाई फिर्ता गरेको बताए । साथै उनले जनताको सेवामा समर्पित र राम्रो काम हुने ठाउँमा रकम अभाव हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरे । शाक्यले अस्पतालले बिरामीको सेवामा विशेष ध्यान दिनुपर्ने बताए । अस्पतालमा आएका बिरामीहरूले नराम्रो रहेछ भन्दै फर्कनुपर्ने अवस्था आउन नदिन व्यवस्थापन, कर्मचारी र चिकित्सकहरूलाई सुझाव दिएका छन् ।
कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले क्षत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौंभित्रका कोर सिटीका जनताको सेवामा कुनै कसर बाँकी नराखेको बताइन् । मेयर खड्गीले भनिन्, ‘काठमाडौंमा फोहोरको समस्या छ, खानेपानीको समस्या छ, त्यसैले स्वास्थ्य संस्थाको धेरै नै महत्व छ ।’ उपमेयर खड्गीले सहरी क्षेत्रभित्र राम्रो सेवा दिने स्वास्थ्य संस्थाको रूपमा सामुदायिक अस्पतालको संख्या भएको बताइन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष नवीन मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालयको संस्थागत र संगठित रूपमा विकास गरेर अघि बढ्नुपर्ने बताए । वडा अध्यक्ष मानन्धरले कोरोना महामारीमा अस्पतालले बिरामीहरूको निःशुल्क उपचार गरेको स्मरण गराउँदै २०१५ सालदेखि उक्त अस्पतालले जनताको सेवामा समर्पित भएर काम गर्दै आएको बताए ।
काठमाडौंमा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले दाताहरूकै सहयोगमा अस्पतालले अत्याधुनिक विशाल भवन निर्माण गर्ने सपना देखेको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अध्यक्ष श्रेष्ठले महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड रूपैयाँले भवन निर्माण सुरु गर्न सम्भव भएको बताउँदै आगामी दिनमा पनि महानगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने बताए । अध्यक्ष श्रेष्ठले कोरोना महामारीको समयमा अस्पतालमा केही आर्थिक समस्या परेको भए पनि अहिले महत्वाकांक्षी योजनामा अघि बढेको बताउँदै भवन सम्पन्न भएपश्चात् क्षत्रपाटी निःशुल्क चिकित्सालय भौतिक पूर्वाधार र स्वास्थ्य सेवाको गुणस्तर दुवैमा उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।
काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड तथा अन्य दाताहरूले उपलब्ध गराएको थप डेड करोड रूपैयाँसहित निर्माण सुरु गरिएको अस्पताल दाताहरूबाट संकलित सहयोग रकमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए । क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रूपैयाँको कुल पुँजीबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो ।
तत्कालीन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन सिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुईवटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ । हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा मुटुसम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टसहित अत्याधुनिक भेन्टिलेटर सुविधा समेत रहेको छ ।