काठमाडौं । कुमारी बैंक लिमिटेडले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ । अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुननसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिदिएको बैंकले जानकारी दिएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरूमा शिक्षा एक महत्वपूर्ण स्तम्भ रहेको छ । यस लक्ष्यअनुरूप राष्ट्रको दिगो विकासको लागि जनताको जीवनमा परिवर्तन ल्याउन एक प्रेरक शक्ति शिक्षा रहेको छ ।
यस खानेपानी फिल्ट्रेसन प्रणाली जडान गतिविधिलगायत पूर्वाधार विकासका विविध कार्यहरूमा सहयोग पु-याउँदै आएको बैंकले आगामीदिनहरूमा समाजको दिगो शैक्षिक विकासको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा दुई अर्ब ११ लाख ४५ हजार चार सय ६४ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब १५ करोड ८५ लाख पाँच हजार नौ सय ९६ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार आठ सय ३६ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ४८ अर्ब ६९ करोड ४० लाख ७० हजार आठ सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ९९ करोड ८५ लाख ७२ हजार दुई सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब २३ करोड ६९ लाख ५५ हजार दुई सय १४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव १३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब नौ करोड ४२ लाख छ हजार पाँच सय ९६ रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार एक सय ९६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार पाँच सय ६८ रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५७ करोड ३१ लाख ९८ हजार चार सय ७५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शून्य सात प्रतिशत रहेको थियो ।