काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो । सो अवसरमा कृषि क्षेत्रको प्रवद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रमममा मेगा बैंकको माइक्रो एण्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर १ का प्रदेश प्रमुख विवेक बन्धु न्यौपाने, मेगा बैंक दमक शाखाका प्रमुख मोहनप्रसाद अर्याल लगायतले कृषकहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकिङ्ग सेवा सुविधाहरु बचत, ऋण, रेमिट्यान्स, बचत गर्ने उपायहरु, बचत तथा ऋणको महत्वकोे बारेमा प्रकाश पारे । नेपाल कृषिप्रधान देश भए पनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्नसके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरामा जोड दिँदै उनीहरुले कृषकहरुले उठाएका जिज्ञासा एवं सवालहरुको समाधान गरेका थिए ।