काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले देशभरिका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारीको रूपमा रहेको कोरोना भाइरस कोभिड –१९ सँग लडन सहयोग पुग्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानीयस्तरका अस्पताल तथा स्वास्थ्य चौकीहरूमा व्यक्तिगत सुरक्षात्मक उपकरण, मास्क र स्यानिटाइजरहरू हस्तान्तरण गरेको छ ।
प्रदेश नं १ अन्तर्गत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्तर्गत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा सञ्चालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेशअन्तर्गत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेशअन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत टिकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहहरूका बीच सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीको प्रमुखलाई बैंकको प्रतिनिधिहरूद्वारा उक्त स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
उक्त व्यक्तिगत स्वास्थ्य सामग्रीहरूको वितरणले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो समाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, दैविक प्रकोप, वित्तीय साक्षरतालगायत थुप्रै क्षेत्रहरूमा अग्रसर भई सबै प्रदेशहरूमा समानुचितरूपमा सहयोग हस्तान्तरण गरिरहेको जानकारी दिएको छ ।