काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार आवेदन दिनेहरुमा सेयर लगानीकर्ताहरुदेखि नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्डकै बहालवाला निर्देशकहरु छन् ।
आवेदन दिनेहरुमा बीमा समितिका पूर्वअध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईं, नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका बहालवाला कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल नेपाल स्टक एक्सचेन्ज लिमिटेडका पूर्वप्रमुुख कार्यकारी अधिकृत सीताराम थपलिया, सेयर लगानीकर्ताहरु डा. केशवप्रसाद श्रेष्ठ, डा. जीवन अमगाई, रमेश हमाल, अम्बिका शर्मा लामिछाने, अनिल पौडेल र हेमन्त बस्यालसहितका १२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार आवेदन दिनेहरुको अन्तर्वार्ता आज आइतबार हुनेछ । अन्तर्वार्तामा छनौट भएकाहरुमध्ये एक व्यक्तिलाई छनौट गरी मन्त्रिपरिषद्मा पेस गरिने तयारी अर्थ मन्त्रालयद्वारा गठन गरिएको धितोपत्र बोर्ड अध्यक्ष छनौट समितिले गरेको छ ।
यसअघि मन्त्रालयले यही कात्तिक ११ गते बिहीबार सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बोर्डका लागि योग्य उम्मेदवारले यही कात्तिक २५ गतेसम्म आफ्नो योग्यताको प्रमाणपत्रसहित आवेदन दिन आह्वान गरेको थियो । धितोपत्र बोर्डमा अध्यक्षको लागि आवेदन दिनको लागि आवेदन दिने व्यक्ति नेपाली नागरिक भएको हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको हुनुपर्नेलगायतका मापदण्डहरु तोकिएको थियो । यी सबै योग्यताहरु पुगेकाले यही कात्तिक २५ गतेसम्ममा अध्यक्ष पदको लागि आवेदन दिनसक्ने समयसीमा तोकिएको थियो ।
बोर्डको अध्यक्ष पदमा यसअघि भीष्मराज ढुंगाना रहेका थिए । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रक्रियामा विवादमा फसेपछि सरकारले ढुंगानालाई अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेको र सोहीबमोजिम ढुंगानाले राजीनामा दिएपछि नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद खाली भएको थियो ।