काठमाडौं । मुडे–चरीकोट सडक निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि सडक निर्माणमा माथिल्लो तहका जनप्रतिनिधिले चासो नदिएको भन्दै दोलखाका स्थानीय अन्दोलित बनेका छन् ।
जिल्लाका स्थानीयले शनिबार भीमेश्वर नगरपालिका ७ मकैबारीमा पुगेर मुडे–चरीकोट हुँदै काठमाडौँ आवतजावत गरिरहेको गाडीमा भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, भौतिक पूर्वधार तथा यातायातका सचिव रविन्द्रनाथ श्रेष्ठ तथा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको पोस्टर सार्वजनिक गाडीमा टासेर आन्दोलन गरेका हुन् ।
फोटोसहितको पोस्टरमा ‘सरकार मुडे–चरीकोट सडक कहिले बन्छ ? हाम्रो विचल्ली कहिलेसम्म टुलुटुलु हेर्छस्’, भन्ने शब्दहरू लेखिएको छ । अलपत्र सडककै कारण दैनिक सास्ती खेपिरहेका जिल्लाका नागरिकहरूले सरोकारवाला निकायका साथै निर्माण कम्पनी र ठेकेदारलाई जिम्मेवारीअनुसारको काम छिटो सक्न दबाब दिन आन्दोलनलाई जारी राख्ने मुडे–चरीकोट सडक संघर्ष समितिका सचिव गोकर्णप्रसाद भण्डारीले बताए ।
भारतीय एक्जिम बैंकको लगानीमा विस्तारकार्य भइरहेको लामोसाँघु–जिरी सडकअन्तर्गतको यो खण्ड ठेकेदारले काम नगरेका कारण छ वर्षयता अलपत्र छ । सडकको निर्माण जिम्मा भारतीय निर्माण कम्पनी सकिल हैदर—शंकरमाली—सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का सम्झौता गरेको थियोे । लामो समय बितिसक्दा पनि सडकको स्तरोन्नति हुन नसक्दा जिल्लाका नागरिकले हिलाम्मे र धुलाम्मे सडकको सास्ती खेपिरहेका छन् ।