अमेरिका । अमेरिकी बैंक जेपी मोर्गान चेसले टेस्लाविरुद्ध करोडौँको मुद्दा दायर गरेको छ । बैंकले सन् २०१८ मा टेस्ला मालिक एलन मस्कले गरेको ट्विटलाई लिएर मुद्दा दायर गरेको हो ।
मस्कले त्यतिबेला आफूले कार कम्पनीलाई प्राइभेटमा लैजानसक्ने बताएका थिए । यसलाई बैंकले सम्झौता उल्लंघन गरेको भनेको छ । यसले गर्दा आफूलाई मस्कले १६ करोड २० लाख डलर तिर्नुपर्ने दाबी गरेको छ ।
मस्कले न्युयोर्क स्टक बजारबाट टेस्ला बाहिरिनसक्ने भन्दै ट्विट गर्दा सेयरबजार अस्थिर बनेको समेत र सेयर मूल्यमा समेत प्रभाव परेको दाबी गरिएको छ । पछि उनले उक्त निर्णयबाट पछि हटेका थिए । मस्कलाई अमेरिकी वित्तीय नियामक अधिकारीले जरिवाना नै गराउनुपरेको थियो ।
जेपी मोर्गानले म्यानहटन संघीय अदालतमा मुद्दा हालेको हो । बैंकले टेस्लासँग सन् २०१४ मा सम्झौता गरेको र त्यसले बैंकलाई टेस्लाको सेयर किन्ने बाटो खोलेको बैंकले हालेको मुद्दामा भनिएको छ ।
सम्झौताअनुसार टेस्लाले जेपी मोर्गानलाई तोकिएको सेयर मूल्यभन्दा तल भए पनि सेयर किन्न खुल्ला भएको बताइएको छ । उक्त सम्झौताा भने गत जुन–जुलाईमै समाप्त भएको छ । टेस्लालाई दिएको प्रतिबद्धता पूरा गर्न पर्याप्त अवसर दिएको दाबी गर्दै बैंकले आफूलाई मुद्दामामिलामा धकेल्नु दुर्भाग्य भएको उल्लेख गरेको छ ।
मस्कले सन् २०१८ अगस्ट ७ मा कम्पनी प्रतिकित्ता ४२० अमेरिकी डलर मूल्यमा प्राइभेटमा जानसक्ने बताएका थिए । त्यसको १७ दिनपछि उनले योजना रद्द गरे । यो वर्ष जेपी मोर्गानसँगको सम्झौता सकिँदासम्म टेस्लाको सेयर आकाशिएको छ । झण्डै १० गुणाले बढेको छ । बैंकले टेस्लालाई सम्झौताअनुसारको सेयर हस्तान्तरण गर्न अन्यथा त्यसबराबरको सेयर दिन माग गरेको छ ।
टेस्लाले यसबारे आधिकारिक प्रतिक्रिया दिइसकेको छैन तर सन् २०१९ मा दुईबारेको झगडाको समाचार आएपछि मोर्गान अवसरवादी देखिएको र सेयर बढ्दा फाइदा लिनखोजेको टेस्लाले आरोप लगाएको थियो ।