काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंसिर ५ गते अर्थात् आज सोमबार पुनः १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यसदिन अपराह्न दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही कात्तिक २९ गते पनि राष्ट्र बैंकले ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार जारी मिति मंसिर सात गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको ११ करोड रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुुने अवधि भने क्रमशः २०७८ फागुन १० गते, २०७९ जेठ १० गते र २०७९ मंसिर छ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत हो । यसअघि गतसाता अर्थात् यही कात्तिक २९ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।