जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल सञ्चालनसम्बन्धी आवश्यक कानुन ल्याउने तयारी भइरहेको बताएकी छिन् ।धनुषाको कुर्थादेखि जनकपुरधाम हुँदै भारतको जयनगरसम्म रेल सञ्चालनका लागि तयार पारिएको भौतिक संरचनाको मंगलबार निरीक्षण गर्दै उनले एक साताभित्र रेल सञ्चालनसम्बन्धी कानुन ल्याइने जानकारी दिएकी हुन् ।
मन्त्री यादवले कानुनको अभावमा रेल सञ्चालन हुन नसकेको समेत बताइन् । ‘रेल सञ्चालनका लागि आवश्यक कानुनका लागि सरकारले अध्यादेश तयार पारिसकेको छ’, उनले भनिन्, ‘अध्यादेश ल्याउनका लागि कागजात तयार भइसकेको र कागजातमा दस्तखत गर्न मात्र बाँकी छ ।’ कागजातमा हस्ताक्षर भएपछि अध्यादेशमार्फत कानुन ल्याइने उनको भनाइ थियो । रेल सञ्चालका लागि आवश्यक कानुन, कर्मचारीको व्यवस्थापन र बजेटको निर्धारण भएपछि भारत तथा नेपालका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट भए पनि संयुक्तरूपमा रेलको उद्घाटन गर्ने उनले जानकारी दिइन् ।
मन्त्री यादवले रेल सञ्चालन नहुँदा निराशा बढेकाले छिटै रेल सञ्चालन गर्न अध्यादेश ल्याउन लागिएको बताइन् । सो अवसरमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका सन्दर्भमा अहिलेसम्म भएको प्रगतिका बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए ।