विराटनगर । मुलुककै जेठो उद्योग वाणिज्य संघका रुपमा स्थापित भएको मोरङ व्यापार संघको ६५औँ वार्षिक साधारणसभा गरिएको छ । साधारणसभामा कोभिड १९ महामारीले ग्रसित उद्योगी तथा व्यवसायीहरु पुनस्र्थापनाको मार्गमा अघि बढिरहेको अवस्थामा पुनः ओमिक्रोम भेरियन्टको महामारी फैलिनसक्नेतर्फ समयमा नै सरकारले आवश्यक कदम चाल्न र समयमै सचेत भई सो भेरियन्ट प्रतिकारका लागि तयारी अपनाउन व्यवसायी तथा उद्योगीले आग्रह गरेका थिए ।
साधारणसभाबाट मोरङ व्यापार संघले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघको नेतृत्व हत्याउन उद्योगी तथा व्यवसायी व्यापक लबिङ्गमा लागेका छन् । संघको साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक व्यवस्था सुदृढीकरणका लागि मोरङ व्यापार संघ निरन्तर प्रयासरत र चिन्तनशील रहँदै आएको बताए । साथै उनले अर्थ मन्त्रालयलाई उद्योग, व्यवसाय तथा आर्थिक क्षेत्रका विभिन्न विषयवस्तुहरुमा आवश्यक राय-सुझावका लागि मोरङ व्यापार संघलाई संघीय सरकारको अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकारको रुपमा समेत घोषणा गरे । अर्थमन्त्रीको यो घोषणा केवल उद्योगी तथा व्यवसायीलाई लालीपप भएको व्यवसायीको टिप्पणी थियो ।
त्यसैगरी अर्थमन्त्रीले व्यापार संघले लामो समयदेखि उठाउँदै आएको सुनसरीको अमडुवामा अवस्थित छ सय ३२ बिघा जमिनमा ‘क्रस बोर्डर औद्योगिक क्षेत्र’ निर्माण गर्नुपर्ने मागलाई सम्बोधन गर्न सरकार तयार रहेको बताए । साथै उनले व्यापार संघलाई त्यो प्रस्तावित क्षेत्रको योजना लिएर संघीय सरकारमा आउन उद्योगी तथा व्यवसायीलाई आग्रह समेत गरे ।