काठमाडौं । भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको ऋण सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकद्वारा सञ्चालन हुुने कृषि रूपान्तरणका लागि समावेशी मूल्य श्रृंखला अर्थात् भ्यालु चेन्स अफ इन्क्लुसिभ ट्रान्सफरमसशन अफ एग्रीकल्चर (भिटा) परियोजनका लागि नेपाल सरकार तथा कृषि विकास बैंकबीच अमेरिकी डलर आठ करोड ३३ लाख पाँच हजार रुपैयाँबराबरको सहायक ऋण सम्झौता भएको हो ।
उक्त कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख ढाकाराम तिवारील हस्ताक्ष गरेका हुन् । बैंकका अनुसार यो परियोजनाबाट छ वर्षको अवधिभित्र एक लाख २५ हजार कृषक लाभान्वित हुनेछ । कृषि मूल्य श्रृंखलाको विकास र विस्तारका लागि कार्य गर्ने यो परियोजनाले कृषकहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुका साथै हेपर इन्टरनेसनल संस्थासँग सहकार्य गर्दै कृषकहरूको क्षमता अभिवद्धि गर्ने कार्य समेत गर्ने लक्ष्य रहेको छ ।
३० वर्ष अवधिको लागि कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)को सहयोगमा अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकलाई प्राप्त भएको यो ऋण रकम बैंकले सरकारबाट पाँच प्रतिशत ब्याजमा प्राप्त गर्र्नेछ । वित्तीय क्षेत्रमा देखिएको तरलता अभावलाई कम गर्न यस किसिमको कार्यक्रमले टेवा पुग्ने बैंकले जानकारी दिएको छ । उक्त सम्झौता कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कर्जा अधिकृत प्रताव सुवेदी, विभागीय प्रमुख विना शर्मा, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेलको उपस्थिति रहेको थियो भने नेपाल सरकारको तर्फबाट उपसचिव बिमला अधिकारी तथा लेखा अधिकृत बुद्धराम मल्ल आलेको उपस्थिति रहेको थियो ।