काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मासिक दश प्रतिशत पुँजीगत खर्च गरेर देशमा कायापलट गर्ने भाषण गरेको महिनौँ भइसक्दा पनि पुँजीगत खर्च छ प्रतिशत छुन नसकिरहेको बेला उनकै नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्माको जस्तै हावादारी तर्क गरेर अर्थतन्त्रको बारेमा नयाँ परिभाषा गर्ने जमर्को गरेका छन् । प्रचण्डको भाषा सुनेका अर्थतन्त्रका जानकारहरुले उनलाई अर्थशास्त्रका नयाँ ‘उस्ताद’को संज्ञा दिएका छन् ।
विश्वभर कुनै पनि कम्पनीको सेयर मूल्य घटबढ उक्त कम्पनीको आम्दानी/खर्चसँग जोडिन्छ । क्षणिक समयमा सेयरको चलखेल भए पनि दीर्घकालीन रुपमा भने कम्पनीको समग्र अवस्थाका आधारमा सेयरबजारमा मूल्य घटबढ हुन्छ । विश्वमा एप्पल कम्पनीको मूल्य घटबढ हुँदा उक्त एप्पल उद्योगको वास्तविक आम्दानीले ठूलो भूमिका खेल्छ । तसर्थ राम्रो र आम्दानी हुने जुनसुकै उद्योगको सेयरको मूल्य बढ्नु भनेको उत्पादन र त्यसको बिक्रीसँग सम्बन्धित हुन्छ । तर, प्रचण्डले भने सेयरबजारमा हुने लगानीलाई सिधै साम्राज्यवादको विकसित रुपको रुपमा परिभाषित गरिदिएका छन् ।
सेयरबजारमा लगानी गरेका लाखौँले बजारलाई असहयोग गर्नेविरुद्ध ‘नो भोट’ अभियान चलाउन थालेकै बेला दुई पटक प्रधानमन्त्री भएर देशको कार्यकारी पद सम्हालेका प्रचण्डले सेयर बजारमा हुने लगानीको साथै विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लगायतका संस्थाको कडा आलोचना गर्दै तिनीहरुलाई साम्राज्यवादको नयाँ रुप भनेका छन् ।
तिनै माओवादीका अर्का नेता अर्थमन्त्री शर्मालाई पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जोड/घटाउ, गुणा नजानेको भनेर आलोचना गरेको केही दिनमै अर्थमन्त्री शर्माकासमेत अध्यक्ष रहेका प्रचण्डले अर्को हावादारी तर्क गरेका हुन्, ‘पुँजीको पुँजी बजारमा हुने लगानीको साथै विश्व बैंक, एडीबी र आईएमएफले गर्ने लगानी साम्राज्यवादको नयाँ रुप ।’
शनिबार आफ्नो पार्टीको सबै प्रदेशको सम्मेलनलाई काठमाडौंबाट एकैपटक उद्घाटन भाषण गर्दै प्रचण्डले विश्व बैंक, एडीबी, आईएमएफ र सेयरबजारमा हुने लगानीको कडा आलोचना गर्दै विश्व बैंक, एडीबी र आईएमएफलाई बैंक नभनी साम्राज्यवादको विकसित रुप भन्नुपर्ने बताएका हुन् ।
प्रचण्ड आफैं नेपालको प्रधानमन्त्री भएको बेला भने ती संस्थाबाट पैसा लिएर नेपालको विकासमा लगाउनुको साथै ती संस्थाहरुलाई नेपालको विकासमा थप सहुलियतपूर्ण ऋण दिन र लगानी गर्न पटक–पटक आग्रह गरेका थिए । तर, अहिले ती संस्थाको आलोचना गर्दै प्रचण्डले ती संस्थाहरुले संसारबाट नाफा चोरेर केही सीमित व्यक्तिहरु धनी बनाउने र असी प्रतिशत जनतालाई भोकमरीमा राख्ने योजनाअनुसार काम गरेको भन्दै आलोचना गरेका हुन् ।
प्रचण्डले सेयरबजारको नाममा पुँजीमा पुँजी लगानी गरेर नाफा लिने काम भएको तर उद्योग र कलकारखानामा लगानी घट्दै जाँदा मजदुरहरुको संसारभर कटौती भएको भन्दै सेयरबजारमा हुने लगानीको चर्को विरोध गरेका हुन् । नेपालको सेयरबजार चार महिना नपुग्दै ११ खर्ब बढीले घटेको बेला प्रचण्डले सेयर बजारविरुद्ध बोलेका हुन् । उनको भनाइ बाहिरिएकै भोलिपल्ट आइतबार नेपालको सेयरबजार ८८ दशमलव ७० अंकको गिरावट आएको थियो । सेयर बजारविरुद्ध बोल्ने प्रचण्डकै पार्टीका नेता जनार्दन शर्मा अहिले अर्थमन्त्री छन् । उनी पनि सेयरबजारप्रति अनुदार छन् ।
अनुदार अर्थमन्त्री र गलत नीतिको कारण करिब पौने चार महिना अर्थात् आइतबारसम्म नेपालको सेयरबजार ११ खर्ब ४९ अर्बले घटेको छ । गत भदौ २ गते नेपालको सेयरबजारमा लगानीकर्ताहरुको कुल सम्पत्ति ४४ खर्ब ६८ अर्ब पुगेको थियो । आइतबारसम्म लगानीकर्ताहरुको कुल सम्पत्ति ३३ खर्ब १९ अर्बमा सीमित हुन पुगेको छ ।
सरकारी नीति र सरकार आफैँले खर्च गर्न नसकेको कारण संकलित राजस्व पनि सरकारी खातामै रहेको कारण बजारमा लगानीयोग्य रकमको चरम अभाव छ । लगानीयोग्य रकमको अभाव भएपछि गत भदौदेखि बजार घट्न थालेको थियो । गत भदौ २ गते नेपालको सेयरबजार तीन हजार एक सय ९९ अंकमा बन्द भएको थियो । दैनिक २१ अर्बभन्दा बढीको सेयरबजार खरिदबिक्री भएकामा अहिले दैनिक करिब तीन अर्ब रुपैयाँमा सीमित हुनपुगेको छ । यसले बजारमा रकमको चरम अभाव भएको संकेत गरेको छ ।
प्रचण्डले विश्व बैंक, एडीबी, आईएमएफको विरोध गरे पनि तीनै संस्थाहरुले नेपालको गरिबी निवारणमा प्रशस्त लगानी गरेका छन् । नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमले सुझाव नै दिएका छन् । विश्व बैंकले सहुलियतपूर्ण ऋणमा नेपालमा केही सडक आयोजनाहरु पनि निर्माण गरिरहेको छ । नेपालले एसियाली विकास बैंक (एडीबी) पनि पैसा लिएर विभिन्न क्षेत्रको विकासमा काम गरिरहेको छ ।
उनले सेयरबजारमा लगानी गर्दा पनि उद्योग र उत्पादन क्षेत्रभन्दा बाहिर हुने भएकाले त्यसलाई पनि साम्राज्यवादको विकसित रुप भनेका हुन् । प्रचण्डले विश्वमै पुँजीहरु पुँजीमै लगानी गर्ने प्रवृत्ति बढेको भन्दै यसको अध्ययन, अनुसन्धान र विश्लेषण गर्नुपर्नेमा जोड दिएका थिए ।