अमेरिका । संसारमा जलवायु परिवर्तनबारे चिन्ता र चासो बढिरहँदा विस्तारै छोटो दूरीका गन्तव्य पुग्न मानिसहरु विमान चढ्न छोड्न थालेका छन् । स्क्यान्डिनाभियामा सुरु भएको फ्लाइग्स्काम अर्थात् उडानप्रतिको वितृष्णाले धेरै यात्रुलाई विमानहरुमा भर नपर्न प्रेरित गरिरहेको छ । कसैले यसको अर्कै विकल्प प्रमाणित नगरुन्जेलका लागि भने अहिले द्रुतगतिको रेल १ हजार १ सय किमिसम्मको यात्रामा विमानको प्रभावकारी विकल्प बनेको छ । यसको कारण हो– सुविधा र गतिको संयोजन । यसले २९० किमि प्रतिघण्टा वा अरु धेरै गतिको बीचमा यात्रुलाई सेवा दिन्छ ।
अप्रमाणित विकल्प मानिएको कम क्षमताको हाइपरलुप अवधारणाभन्दा ‘हाइस्पिड’ रेलले अहिले नै विशाल संख्यालाई द्रुतगतिमा सेवा दिएर प्रमाणित गरिसकेको छ । युरोप र एसियामा सन् १९८० को दशकयता उच्चगति र क्षमताको रेलवेमा सयौँ अर्ब डलर लगानी भइसकेको छ । यसको उपादेयताको श्रेय भने जापानको शिनकानसेन र फ्रान्सको ट्रेन अ ग्रान्ड वित्सी (टीजीभी)लाई जान्छ ।
बितेको दशकमा भने चीन यसप्रकारको रेलको विवादविहीन ‘विश्व नेता’ बनेको छ । उसले नयाँ रेलवेको ३८ हजार किमि नेटवर्क बनाइसकेको छ । चीनका कुना–कुनामा द्रुतगतिका रेल पुगिसकेका छन् । स्पेन, जर्मनी, इटाली, बेल्जियम र बेलायतले पनि सन् २०३० सम्म गर्नथाल्ने आशा गरिएका अन्य देशसँग युरोपेली नेटवर्क विस्तार गर्दै छन् ।
सन् २०१८ मा अफ्रिकाले मोरक्कोमा अल बोराक लाइन खुलेसँगै आफ्नो पहिलो हाइस्पिड रेलवे पायो । इजिप्टले यही दशकको अन्त्यसम्म यो क्लबमा प्रवेश गर्न खोज्दै छ । यसबाहेक दक्षिण कोरिया, साउदी अरेयिबा र ताइवानले हाइस्पिड रुटहरु स्थापना गरिसकेका छन् भने भारत, थाइल्यान्ड, रुस र संयुक्त राज्य अमेरिकाले पनि २५० किमि प्रतिघण्टा गतिमा गुड्ने नयाँ रेलवेहरु निर्माणमा प्रतिबद्धता जनाइसकेका छन् । यी त भए रेलवे निर्माणका कुरा । तर सन् २०२२ मै विश्वकै द्रुतगतिको यात्रामा रेल चढ्न पनि पाइने अवस्था भइसकेको छ ।
कहाँ–कहाँ चल्छन् द्रुतगतियुक्त रेल ? शांघाई माग्लेव (४६० किमि प्रतिघण्टा गति, चीन)
यो विश्वकै द्रुतगतिको सार्वजनिक रेल हो । निकै नवीनतम यो विश्वकै एउटामात्र त्यस्तो लिंक हो जसले म्याग्नेटिक लेभिटेसन (माग्लेव) प्रयोग गरी यात्रु बोकिरहेको छ । अन्य रेलहरुले भने परम्परागत स्टिल रेलमाथि स्टिल ह्विल प्रयोग गर्छन् ।
शांघाईको पुडोङ : विमानस्थलसँग लंगयाङ रोड स्टेसन जोड्ने यो रेलको अधिकतम गति ४६० किमि प्रतिघण्टा छ । यसले ३० किमिको यात्रा साढे सातै मिनेटमा पूरा गर्छ । जर्मन प्रविधिमा बनेका माग्लेव रेलहरु एलिभेटेट ट्राकमाथि उड्छन् । शक्तिशाली म्याग्नेटहरुले अत्यन्तै लचक र घर्षणरहित यात्रा गराउँछ ।
दशक लामो नियमित रेल सञ्चालनको अनुभवबाट चीनले अहिले आफ्नै ६०० किमि प्रतिघण्टा गतिको माग्लेव रेलको विकास गरेको छ । उसले अब माग्लेव नेटवर्क विस्तारको महत्वाकांक्षी योजना अघि सारेको छ । शांघाई र हाङझाउ जोड्न उसले यही लाइन निर्माण गर्ने बताएको छ ।
सीआर४०० ‘फुसिङ’ (३५० किमि प्रतिघण्टा गति, चीन)
हाइस्पिड रेल लाइनहरुको लामो नेटवर्क बनाएसँगै चीनमा अहिले नै द्रुतगतिका रेलहरु नियमित दौडिरहेका छन् । त्यसैमध्ये एक हो सीआर४०० ‘फुसिङ’ रेल । यो रेल ३५० किमि प्रतिघण्टा गतिमा दौडिन्छ । परीक्षणका क्रममा भने यो प्रतिघण्टा ४२० किमि गतिमा हुइँकिएको थियो । फुसिङ रेलहरु हाइस्पिड रेलकै अघिल्लो पुस्ताबाट विकसित हो । जुन युरोप र जापानबाट आयातित प्रविधिमा आधारित छ ।
१६ वटा कारसम्म लामा यी रेलले १ हजार २ सय यात्रु बोक्न सक्छन् । यसका नवीनतम फिचरले यात्रुलाई मुग्ध पार्छन् । स्मार्ट ग्लास डिस्प्ले, सिट मनोरञ्जन, वायरलेस डिभाइस चार्जिङ, स्मार्ट क्याबिन, स्वचालित सञ्चालनजस्ता फिचरहरु यसमा छन् । यो विश्वकै एकमात्र अटोमेटिक हाइस्पिड रेल पनि हो । यस किसिमका रेल बेइजिङ–शांघाई–हङकङ र बेइजिङ–हार्बिन रुटहरुमा सञ्चालन भइरहेका छन् ।
आइस३ (३३० किमि प्रतिघण्टा गति, जर्मनी)
यो जर्मनीको विश्वप्रसिद्ध इन्टरसिटी एक्सप्रेस (आइस) ब्रान्ड रेल हो । यो ब्रान्डले धेरैखाले रुटमा चल्ने द्रुतगतिका रेलहरुको विशाल परिवारलाई समेट्छ । सन् १९९९ यता चलिरहेको यो ह्वाइट वर्म आइस३ रेल ३३० किमि प्रतिघण्टा गतिमा गुड्छ । यो सुरुमा १८० किमिको कोलोने–फ्रान्कफर्ट हाइस्पिड लाइनका लागि बनाइएको थियो । दुई सहरलाई यसले दुई घण्टा ३० मिनेटमा घटाइदियो । सन् २००२ यता यो समय केवल ६२ मिनेटको भएको छ ।
सामान्य सञ्चालन गति ३०० किमि प्रतिघण्टा भए पनि आइस३ रेलहरुलाई ३३० किमि प्रतिघण्टासम्म दौडिन दिइएको छ । परीक्षणका क्रममा यसले ३६८ किमि प्रतिघण्टा गति दिएको थियो । यसमा १६ इलेक्ट्रिक मोटरहरुले आठवटा कार रेललाई गति दिन्छ । यसले ११ हजार हर्सपावर उपलब्ध गराउँछ ।
आइस३ जर्मनभित्र र पेरिस, आम्स्टरडाम र ब्रसेल्ससँग जोडिएका अन्तर्राष्ट्रिय रुटहरुमा चल्छन् । यसको डिजाइन भने स्पेन, रुस, टर्की, चाइना र युरोस्टरलाई दोस्रो पुस्ताको अन्तर्राष्ट्रिय रेलहरुका लागि बिक्री समेत गरिएको हाइस्पिड रेलको साइमेन्स ‘भेलारो’ परिवारमा आधारित छ ।
टीजीभी (३२० किमि प्रतिघण्टा गति, फ्रान्स)
विश्वमा परम्परागत रेलले बनाएको सर्वोच्च कीर्तिमानमा फ्रान्स अगाडि छ । सन् २००७ अप्रिल ३ मा फ्रान्सले हाइस्पिड रेलको ५७४.८ किमि प्रतिघण्टा गतिको कीर्तिमान बनाएको थियो । प्रतिसेकेन्ड १५० मिटर भनेको सामान्य रुपमा चल्ने ट्रेन अ ग्रान्ड वित्सी (टीजीभी) सर्भिसको झण्डै दोब्बर हो । यसलाई उच्चगतिको रेल प्रविधिकै सवोत्कृष्ट मानिन्छ ।
युरोपको पहिलो डेडिकेटेट हाइस्पिड नेटवर्क अझै चर्चित र धेरै सफल छ । यसले फ्रान्सका सीमा पार गरिसकेको छ । फ्रेन्च रेलवे उद्योगले दोस्रो विश्वयुद्धयता परम्परागत रेलसँग सम्भव भएका सीमा धकेल्ने गर्दै आएको छ । यसले सन् १९५५ मा बनेको ३३१ किमि प्रतिघण्टा गतिको, सन् १९८१ मा बनेको ३८० किमि प्रतिघण्टा गतिको र सन् १९९० मा बनेको ५१५.३ किमि प्रतिघण्टा गतिको कीर्तिमान तोडिसकेको छ ।
आज पेरिसबाट लियोन, मार्सेली, बोर्डक्स, नान्टिस, स्ट्रासबर्ग, लिली, ब्रसेल्स र लन्डनसँगका हाइस्पिड लाइनहरु बनेका छन् । जहाँ केही ३२० किमि प्रतिघण्टा गतिका रेलहरु दौडिरहेका छन् । बितेको ४० वर्षमा रेलले नेटवर्क विस्तारसँगै धेरै पुस्तामा क्रान्ति नै ल्याएको छ । सन् १९८० को टीजीभीले धेरै उन्नत र उच्च क्षमतायुक्त ‘डुप्लेक्स’ रेलहरु बने । जसले फ्रान्सका छिमेकी देशहरु जर्मनी, स्विट्जरल्यान्ड र स्पेनमा समेत काम गरे ।
यतिमात्र होइन उच्च गतिका रेलहरुले निर्यातमा सफलता दिलाएको छ । टीजीभी प्रविधि बितेका ३० वर्षयता स्पेन, दक्षिण कोरिया, ताइवान, मोरक्को, इटली र यूएसएसम्म बिक्री भएका छन् ।
जेआर इस्ट ई५ (३२० किमि प्रतिघण्टा गति, जापान)
सन् १९६४ मै जापानले नयाँ उच्चगतिको रेलवेको अवधारणा विश्वलाई परिचित गरायो र अहिले पनि गति, क्षमता र सुरक्षामा आफ्नो शिनकानसेन लाइनहरुसँगै रेलमा आफूलाई ‘ग्लोबल लिडर’ बनाइ नै रहेको छ । शिनकानसेन अहिले अधिकतम ३०० किमि प्रतिघण्टा गतिमा सञ्चालन हुन्छ तर जापान रेलवेज (जेआर इस्ट)का ई५ बुलेट ट्रेनहरु ३२० किमि प्रतिघण्टा गतिमा टोक्योबाट शिन आओमोरीसम्म हुइँकिरहेका छन् ।
हरेक रेलमा ७३१ सिट र ३२ इलेक्ट्रिक इन्डक्सन मोटरहरु छन् जसले १२ हजार ९ सय हर्सपावर जेनेरेट गर्छन् । लाइटवेइट आल्मुनियम अलोयमा बनाइएका ई५हरुमा एक्टिभ सस्पेन्सन छन् जसले हाइस्पिडमा कर्भ नेगोसिएट गर्छन् । जब रेलहरु उच्च गतिमा सुरुङमा प्रवेश गर्छन्, सोनिक बुमहरु घटाउन ड्राइभिङ कारहरुमा लामो नोज राखिएको थियो ।
सन् २०११ मा ल्याइएका यी रेल ५९ वटा बनेका छन् भने सन् २०१६ यता होक्काइदो शिनकानसेनमा आओमोरीको उत्तरतिर प्रयोग भइरहेका छन् । यसले जापानको मुख्य टापु होंग्सुलाई ५४ किलोमिटर समुद्रमुनि सेइकान सुरुङले जोडेको छ ।
अल बोराक (३२० किमि प्रतिघण्टा, मोरक्को)
यो अफ्रिका महादेशकै पहिलो उच्चगतिको रेल हो । सन् २०१८ को नोभेम्बरमा खुलेको यो रेलवेले टान्जायर सहरलाई कासाब्लान्कासँग जोडेको छ । उक्त सेवा मोरक्कको योजना गरिएको १५ सय किमिको हाइस्पिड नेटवर्कको पहिलो चरण हो । फ्रेन्च प्रविधिमा आधारित टीजीभी युरोडुप्लेक्स डबल डेक इलेक्ट्रिक रेलहरु ३२० किमि प्रतिघण्टा गतिसम्ममा १८६ किमि नयाँ टान्जायर र केनिट्रा लाइनमा हुइँकिन्छन् ।
उल्लिखित मात्र होइन स्पेनको एभे एस–१०३ रेल ३१० किमि प्रतिघण्टा गतिमा हुइँकिन्छ । यसबाहेक दक्षिण कोरियाको केटीएक्स ३०५ किमि प्रतिघण्टा गतिमा हुइँकिन्छ । त्यस्तै इटालीको ट्रेनिटालिया ईटीआर१००० रेल ३०० किमि प्रतिघण्टा गतिमा, साउदी अरेबियाको हारामे हाइस्पिड रेलवे ३०० किमि प्रतिघण्टा गतिमा यात्रुहरुलाई सेवा प्रदान गर्दै आएको छ । –सीएनएनबाट (आर्थिक दैनिकबाट)