वासिङटन । विश्वका दुई ठूला विमान निर्माताले नयाँ फाइभजी फोन सेवा परिचालनमा ढिलाइ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दुवै विमान कम्पनीले सरकारलाई पत्र लेख्दै यो प्रविधिले हवाइ उद्योगमा नकारात्मक प्रभाव पर्नसक्ने बताएका हुन् ।
सी–ब्यान्ड स्पेक्ट्रम फाइभजी वायरलेसले एयरक्राफ्ट इलेक्ट्रोनिक्समा अवरोध पु-याउनसक्ने भन्दै यसअघि नै चिन्ता व्यक्त भएको थियो । अमेरिकी दूरसञ्चार कम्पनी एटीएन्डटी र भेराइजनले जनवरी ५ देखि फाइभजी सेवा सञ्चालन गर्दै छन् ।
विमानलाई सुरक्षित रुपमा सञ्चालन हुन फाइभजीले अवरोध गर्नसक्ने विमान निर्माता कम्पनीले बताएका छन् । बोइङका प्रमुख डेभ कलहन र एयरबसका प्रमुख जेफ्रे निटेलले संयुक्त रुपमा लेखेको पत्र अमेरिकी यातायात सचिव पिट बटिगलाई बुझाइएको छ । उक्त पत्रमा ट्रेड ग्रुप एयरलाइन्स फर अमेरिकाले गरेको अनुसन्धानले यदि संघीय हवाइ प्रशासनले जारी गरेको फाइभजी नियम सन् २०१९ मा कार्यान्वयन भएको भए तीन लाख ४५ हजार यात्रु उडान र पाँच हजार चार सय कार्गो उडान ढिलाइ, डाइभर्ट र रद्द हुनसक्ने थियो भनिएको छ ।
हवाइ उद्योग र अमेरिकी हवाइ प्रशासानले फाइभजीले सम्भावित रुपमा विमानको रेडियो अल्टिच्युड मिटरजस्ता संवेदनशील विमान सामग्रीमा दखल दिनसक्ने भन्दै चासो व्यक्त गरेका छन् । एयरबस र बोइङ दुवैले अन्य हवाइ उद्योग क्षेत्रका स्टेक होल्डरसँग अमेरिकामा फाइभजी लागू गर्दा त्यसले रेडियो अल्टिमिटरसँग पार्ने सम्भावित दुष्प्रभावबारे छलफल गरिरहेको बताएका छन् ।
यही महिना एफएएले यसबारे दुष्परिणाम निस्किने बताएको थियो । त्यसअघि नै फाइभजीबारे धेरै सूचना सम्प्रेषण दिने बताएको थियो । गत नोभेम्बरमा एटीएन्डटी र भेराइजनले सी–ब्यान्ड वायरलेस सर्भिस जनवरी ५ सम्मका लागि व्यावसायिक रुपमा नल्याउने बताएका थिए । सम्भावित प्रभावलाई सीमित पार्न उनीहरुले यो निर्णय लिएका थिए ।