काठमाडौं । बैंकिङ प्रणालीमा तरलता प्रशोचन रकम घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ ।
यो तरलता प्रशोचन रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुुलनामा ३० अर्ब रुपैयाँले कम रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ९० अर्ब तरलता प्रशोचन भएको थियो । राष्ट्र बैंक्का अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा रिपोमार्फत दुई खर्ब ४९ अर्ब ७९ करोड र स्थायी तरलता सुविधामार्फत १५ खर्ब ४७ अर्ब पाँच करोड गरी कुल १७ खर्ब ९६ अर्ब ८४ करोड तरलता प्रवाह भएको छ ।
यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर ४१ करोड ३४ लाख खुद खरिद गरी ४९ अर्ब ५९ करोड तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ७० करोड खुद खरिद गरी दुई खर्ब एक अर्ब छ करोड तरलता प्रवाह गरिएको थियो ।
यसैगरी चालू आवको पछिल्लो चार महिनामा राष्ट्र बैैंकले अमेरिकी डलर एक अर्ब ३६ करोड बिक्री गरी एक खर्ब ६१ अर्ब ८४ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब २२ करोड बिक्री गरी एक खर्ब ४४ अर्ब ६९ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।