काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयबाट अनुमति लिई सञ्चालनमा रहेका विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । मंगलबार बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकबाट पाँच सदस्य समिति गठन गर्दै उनले नवगठित समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।
समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ वटा शिक्षण संस्थाहरूको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ ।
नवीकरणकरणका लागि सबै शिक्षण संस्थाहरूले निवेदन पेस गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुन नसकेकोे शर्माको भनाइ छ । ‘उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ बमोजिम विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित शिक्षण संस्थाहरूको स्थलगत अनुगमन निरीक्षण गरी ठोस रायसहित समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउँछ’, प्रवक्ता शर्माले भने, ‘विज्ञहरूको टोलीले निरीक्षण गरी रायको आधारमा नवीकरण हुने या नहुने निर्णय हुन्छ ।’ बैठकले त्यसको अध्ययन तथा निरीक्षणका लागि पाँच सदस्यीय विज्ञहरूको समिति गठन गरेको छ । समितिको नाम भने मन्त्रालयले गोप्य राखेको छ ।