काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिका अध्यक्ष डा. भेष प्रसाद धमलाको अध्यक्षतामा विराटनगरको उधोग संगठन मोरङको हलमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष धमलाले आर्थिक वर्ष २०७७–०७८ मा वित्तीय संस्थाले एक लाख ४८ हजार ३२ घर परिवारमा लघुवित्त सेवा पु¥याई ९० हजार एक सय ७८ ऋणी सदस्यलाई सात अर्ब ९० करोड ऋण लगानी गरेको र दुई अर्ब ६१ करोड बचत संकलन गरी सम्पूर्ण कारोबार समावेशपछिको खुद मुनाफा १९ करोड १० लाख ६४ हजार आठ सय ४६ र ५७ पैसा आर्जन गरेको जानकारी सभालाई दिए ।
सभाले सम्पूर्ण सेयरधनीहरूलाई गत आर्थिक वर्षको वितरणयोग्य मुनाफावाट २१ दशमलव ४८ प्रतिशत बोनस सेयर र एक दशमलव १३ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर) वितरण गर्ने निर्णय पारित गरेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालबाट धन्यवाद तथा स्वागत मन्तव्य व्यक्त गर्दै बोनस वितरणपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ६० करोड पुगेको जानकारी गराए ।
उक्त साधारणसभावाट सर्वसाधारण सेयरधनीहरूमध्येबाट सुधिर कुमार श्रेष्ठ र बलराम बराललाई वित्तीय संस्थाको सञ्चालकमा निर्विरोध चयन भएको जानकारी गराए । उक्त कार्यक्रमको सञ्चालन कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले गरेका थिए । राष्ट्रियस्तरको यो लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा एक सय सातवटा शाखा कार्यालयमार्फत एक लाख ५४ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले उत्कृष्ट लक्ष्य प्रगति गर्ने शाखाहरू तेतरिया, चिमिडि, झुम्का र बोदेबरसाइनलाई प्रतिशाखा २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरेको जानकारी दिएको छ ।