काठमाडौं, माघ २१
मुक्तिनाथ विकास बैंक वित्तीय जागरण अभियानको सुरुवात गरेको छ । बैंकले यही माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ जिल्लाबाट सुरुवात गरेको जानकारी दिएको छ । यसअन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनीस्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरि खतिवडाको आतिथ्यमा सम्पन्न भएको हो । त्यसैगरी माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा यस बैंकको धार्के शाखाअन्तर्गतका ग्राहक हरिप्रसाद लोहनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डिल्ली सावित्री माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम अधिकारी प्रमुख अतिथि र अतिथिमा सोही विद्यालयका शिक्षक नरेन्द्रप्रसाद रिजाल रहेका थिए ।
कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरू, उपयुक्त व्यवसाय छनोट, व्यावसायिक योजना, सफल उद्यमीका विशेषताहरू, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरूको प्रकारलगायतको विषयमा वित्तीय चेतनाको अभिवृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा एक सय ७० जना ग्राहकहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बैंकसँग कारोबार गर्ने उत्कृष्ट ग्राहकहरू तथाउत्कृष्ट केन्द्रहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । बैंकले ‘आजकोे आवश्यकता, सबैमा वित्तीय साक्षरता’ भन्ने आशयसहित समुदाय र विद्यालयस्तरीय वित्तीय साक्षरता कार्यक्रम सँगसँगै वित्तीय जागरण कार्यक्रमलाई समेत अभियानकै रूपमा अन्य जिल्लाहरूमा पनि सञ्चालन गर्ने योजना बनाएको छ । बैंकले हाल ४२ जिल्लामा एक सय ३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।