काठमाडौँ । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी ‘नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक’ प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ ।
भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा ग्वाछालाई त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक प्रदान गरेका थिए ।
विसं २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरी सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक वर्ष त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहको दिन प्रदान गरिन्छ । नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा यही पुस १४ गते आयोजित एक कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको नाममा स्थापित छत्रमान सिंह केसी स्वर्णपदक प्राप्त गरेकोमा पदक विजेता ग्वाछालाई बधाई दिँदै सम्मान गरेका थिए ।
साथै, भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंकको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने शुभेच्छा व्यक्त गरेका थिए । कडा परिश्रमले सधैँ सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विद्यार्थीहरूको लागि प्रेरणाको स्रोत बन्न पुगेको पनि उनले बताएका थिए ।
कार्यक्रममा पदक विजेता विद्यार्थी ग्वाछाले नेपाल बैंककोे नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैंकप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।