काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र नौवटा स्कुटर सम्बन्धित धनीहरूलाई जिम्मा लगाइएको हो ।
महाशाखाले उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठीमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्कलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी बिहीबार सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकलहरू जिम्मा लगाएका हुन् ।
महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना संकलन तथा सुराकीमार्फत ती मोटरसाइकल बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए । सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकलहरू राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
यस आर्थिक वर्ष ०७८/७९ मा हराएका दुई सय २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरूमा कारबाहीको लागि पठाएको समेत महशाखाले जनाएको छ ।
सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरेको छ ।