अमेरिका । विश्व बैंकले विश्व अर्थतन्त्रले फेरि गम्भीर अवस्था भोग्ने दिन आएको चेतावनी दिएको छ । विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले कोरोना महामारीपछिका धक्काले गरिब देशलाई असर गर्ने बताएका हुन् ।
विश्व बैंकले चालू वर्षमा आर्थिक वृद्धि ४.१ प्रतिशतमात्रै हुने पछिल्लो अनुमान गरेको छ । सन् २०२१ मा ५.५ प्रतिशत आर्थिक वृद्धिको अनुमान थियो । खासगरी कोरोना भाइरस बढ्नसक्ने र सरकारहरुले दिएको राहत रोक्नथालेको र सुरुतिर बढेको मागको अवस्था फेरि छायामा पर्नथालेकाले विश्व अर्थतन्त्रमा असर देखिएको विश्व बैंकले जनाएको छ ।
मालपासले विश्वमा असमानता झनै गहिरिएकोमा समेत चिन्ता व्यक्त गरेका छन् । गरिब देशहरु आर्थिक क्षतिका कारण महंगीको सामना गर्न नसक्नेतर्फ उनको चिन्ता छ । असमानता बढ्दा असुरक्षा पनि बढ्ने भएकाले विश्व बैंक ती देशप्रति चिन्तित बनेको हो । यता वल्र्ड इकोनोमिक फोरमले पनि आर्थिक पुनरुत्थान कठिन हुँदै गइरहेको र यसले जलवायु परिवर्तनजस्ता विश्व समस्यासँग जुध्न अप्ठ्यारो पर्दै गएको बताएको छ ।
विश्व बैंकले यसअघि सन् २०२१ मा आर्थिक पुनरुत्थान भइरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । कोरोनाका नयाँ भेरिएन्ट फैलिने क्रम तीव्र बनेसँगै फेरि विश्व अर्थतन्त्र सुस्ताएको विश्व बैंकले जनाएको छ । ठूला देशहरुको आर्थिक वृद्धि पनि सुस्ताउने देखिएको छ । यसअनुसार पछिल्लो वर्ष आठ प्रतिशत वृद्धिदर हासिल गरेको चीनले यस वर्ष ५.१ प्रतिशत मात्रै आर्थिक वृद्धि देख्न पाउनेछ भने पछिल्लो वर्ष ५.६ प्रतिशत आर्थिक वृद्धि गरेको अमेरिकाको यस वर्ष ३.७ प्रतिशत मात्रै वृद्धिदर रहने विश्व बैंकको अनुमान छ ।
युरोजोनको पनि यो वर्ष ४.२ प्रतिशत मात्रै आर्थिक वृद्धिदर रहनेछ ।