सिड्नी । अष्ट्रियामा कोरोनाभाइरसविरुद्धको खोप लगाउन मिल्ने समूहका सबैलाई खोप अनिवार्य गर्ने कानुन बन्न लागेको छ । आगामी महिनादेखि लागू हुने गरी बिहीबार यस्तो कानुन संसदबाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । योसँगै खोप लगाउन मिल्ने समूहलाई खोप अनिवार्य गर्ने पहिलो यूरोपेली देश अष्ट्रिया नै बन्ने भएको छ ।
कोरोनाभाइरसविरुद्ध लड्नका लागि सवैभन्दा प्रभावकारी र भरपर्दो उपाय नै खोप भएकाले त्यसलाई अनिवार्य गर्नुपर्ने पक्षमा सवै पार्टीका सांसदहरु रहेको दाबी गरिएको छ । भाइरसबाट संक्रमित भएकाहरूको संख्या दिनप्रतिदिन बढ्दै गएकाले संसदले पनि यस कानुनलाई पारित गर्ने अपेक्षा गरिएको छ । तर कतिपयले भने अनिवार्य खोपको व्यवस्था गर्नु व्यक्तिगत स्वतन्त्रताविपरीत हुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।