बाँके, माघ २३
बाबुबाजेको पालादेखि जोतभोग गर्दै आएको ८४ बिघा जग्गा वागेश्वरी मन्दिरको नाममा गर्ने सरकारले तयारी गरेपछि जानकी गाउँपालिकाका स्थानीय किसानहरू आन्दोलित भएका छन् । जानकी गाउँपालिका वडा नम्बर ३ करमोहना गाउँका किसानहरूले आफ्नो आन्दोलन चर्काउँदै लगेका छन् ।
जानकी वडा नं. ३ स्थित रहेको उक्त जग्गा मन्दिरको भएको भन्दै सरकारले जग्गा खोस्न तयारी गरेपछि जग्गाधनीहरूले आन्दोलनलाई तीव्रता दिएका हुन् । जग्गाधनीहरूले सरकारविरोधी नारा लगाउँदै बुधबार नेपालगञ्ज उपमहानगरपालिकाको मूल ढोकामा टायर बालेर विरोध जनाएका छन् ।
सदियौँदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि जग्गाधनीहरूले आन्दोलन सुरु गरेका हुन् । उनीहरूले भोग गर्दै आएका व्यक्तिको जग्गाबारे सत्यतथ्य बुझेर मात्र निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् । सदियौँदेखि तिरो तिरिरहेको जग्गा कसरी गुठीको भयो भन्दै जग्गाधनीहरूले आक्रोश पोखेका छन् । सरकारले आफ्नो निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन् ।
कोहलपुर नगर विकास समितिमा तालाबन्दी :-यसैबीच जग्गाकै विषय लिएर कोहलपुर नगर विकास समितिको कार्यालयमा बुधबार तालाबन्दी गरिएको छ । नगर विकास समितिमार्फत जग्गा किनेका जग्गाधनीहरूले न्यायको माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । दुई वर्ष पहिले प्रक्रियागत रूपमा नगर विकास समितिको जग्गा खरीद गरे पनि हालसम्म भोगचलन गर्न नपाएको भन्दै जग्गाधनीहरू आन्दोलित भएका हुन् ।
कोहलपुर नगरपालिका वडा नं. ११ क्रिकेट मैदाननजिकै ११ जनाले नगर विकास समितिसँग जग्गा खरीद गरेका थिए । टेण्डर पक्रिया पूरा गरी जग्गा खरीद गरिएको भए पनि हालसम्म उक्त जग्गा प्रयोग गर्न नपाएपछि उचित न्यायको माग गर्दै आन्दोलनमा उत्रनुपरेको जग्गाधनी काशिराम कोइरालाले बताए । कोइरालासहित ११ जनाले दुई वर्षअघि प्रतिव्यक्ति ४० देखि ५० लाख लागतमा नगर विकास समितिको घडेरी खरीद गरेका थिए ।
आफूहरूले खरीद गरेको जग्गामा विभिन्न व्यक्तिहरूले संरचना निर्माण गरी बसोबास गर्दै आएकाले हालसम्म उक्त जग्गा उपभोग गर्न नपाएको कोइरालाले गुनासो गरे । आफूहरूको जग्गा खाली गराउनुका साथै सबै घडेरीको चार किल्ला छुट्याइ बाटोको उचित निकास गरिदिन नगर विकाससँग माग गरे पनि कुनै सुनुवाइ नएपछि तालाबन्दी गर्नुपरेको भन्दै आफूहरूको माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने कोइरालाले बताए ।