काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुँदा अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताएका छन् । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले यी सबै समस्याहरूको जड भने राजनीति नै भएको बताए ।
राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो’, उनले भने, ‘नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थतनीति यो हो भन्ने कुराको स्पष्ट राजनीतिक खाका आवश्यक छ ।’
यस्तै उनले विकासमैत्री संरचना र नीतिको अभावका कारण विकास निर्माणका काममा बाधा उत्पन्न भएको बताए । मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिबद्धता जनाए । छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धराशायी भईनसकेको बताएका थिए । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न पनि उनीहरुले सुझाए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उहाँहरूको सुझाव रहेको थियो ।
यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्नेलगायतका सुझाव समेत विज्ञहरूले दिए । छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै भारतका लागि नेपालका पूर्वराजदूत डा. दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुँयाललगायतको पनि उपस्थिति थियो ।