काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठले आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई छुरी हान्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले विरोध गरेको छ । समितिका महासचिव टेकबहादुर रोक्का (टेनिस) द्वारा मंगलबार जारी विज्ञप्तिमा अध्यक्ष श्रेष्ठले सम्पादक रिजाललाई भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्न आग्रह गरेको छ ।
महासंघले पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ । विज्ञप्तिमा उक्त घटनाको कडा भत्र्सना गर्दै धम्की दिने व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।
गत आइतबार श्रेष्ठले सेञ्चुरी बैंकको ठगीसम्बन्धी समाचारलाई लिएर सम्पादक रिजाललाई कुपण्डोलमा रहेको होटल हिमालयमा बोलाएर त्यस्तो धम्की दिएका थिए । श्रेष्ठले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल प्रेस युनियनका निवर्तमान महासचिव अजयबाबु सिवाकोटीमार्फत सम्पादक रिजाललाई होटल हिमालयमा बोलाएका थिए । केन्द्रीय सदस्य सिवाकोटीले सम्पादकलाई शुक्रबार फोन गरी श्रेष्ठले चिनापर्ची गर्न खोजेको भनेका थिए र सम्पादकले उनलाई आइतबार भेटौँला भनेका थिए ।
आइतबार फेरि केन्द्रीय सदस्य सिवाकोटीले ताकेता गरेपछि दिउँसो २ बजे होटल हिमालयमा भेट्ने सहमति भएअनुसार त्यहाँ पुगेका सम्पादक रिजाललाई अध्यक्ष श्रेष्ठले मेरो बैंकको विरुद्ध समाचार लेखेको कारण मेरो श्रीमतीले मलाई आर्थिक दैनिकको कार्यालय अगाडि पु-याइदिनुहोस्, म त्यो समाचार लेख्ने सम्पादकलाई छुरी हान्छु भनेकी छिन् भनेर केन्द्रीय सदस्य सिवाकोटीकै अगाडि सुनाएका थिए ।