काठमाडौं, माघ २६
सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सञ्चालक समितिका अध्यक्ष खेमराज लामिछानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । गैरआवासीय नेपालीहरु, लव्ध प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुबाट स्थापित यस कम्पनीले २०७५ असार २७ बाट आफ्नो व्यावसायिक बीमा कारोबार शुभारम्भ गरेको हो ।
सभामा आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम वित्तीय विवरण पेश गरेका थिए । सोही आधारमा कम्पनीको हाल कायम चुक्ता पुँजी ७० करोड रहेकोमा नियामक निकाय बीमा समितिको निर्देशनबमोजिम एक अर्ब चुक्ता पुँजी पु-याउनुपर्ने व्यवस्था भएअनुसार सर्वसाधारणका लागि सुरक्षित गरिएको ३० लाख कित्ता सेयर यसै आर्थिक वर्षमा जारी गर्ने प्रक्रियाका लागि कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गरेका थिगए ।
उक्त सभाले सो प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ । त्यसैगरी आगामी आ.व. ०७६/०७७ का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा सुजन काफ्ले एल.आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गर्न सञ्चालक समितिले गरिको प्रस्ताव पनि सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । साथै हाल कम्पनीको प्रधान कार्यालयसहित गत आ.व.मा १६ वटा शाखा कार्यालयहरु सञ्चालन रहेकोमा यस आ.व.मा थप १० वटा शाखा तथा कृषि बीमा कार्यक्रमहरु सञ्चालन गरी कम्पनीको व्यावसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी कम्पनीले दिएको छ ।