काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन नेपाल सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार सूचना जारी गर्दै अति आवश्यक परी युक्रेनमा बस्नुपर्नेबाहेक उपलब्ध व्यावसायिक उडानको उपयोग गरी स्वदेश फर्किन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ । युक्रेन र रसियाबीच तनाव बढेसँगै मन्त्रालयले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन भन्दै स्वदेश फर्किनको लागि आग्रह गरेको हो ।
त्यसका साथै मन्त्रालयले नेपाली नागरिकलाई अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरेको छ । युक्रेनका लागि समेत सहप्रमाणीकृत नेपाली राजदूतावास, बर्लिन युक्रमा रहेका ३८ भन्दा बढी नेपालीहरु सुरक्षित रहेका छन् । मन्त्रालयका अनुसार बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरुसँग सम्पर्कमा रहेको र उनीहरु सबै सकुशल रहेको जानकारी प्राप्त भएको बताएको छ । त्यस्तै, त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिन र मस्कोस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । उनीहरुले बर्र्लिनमा रहेका तृतीय सचिव सहरा चौलागाईं र मस्कोस्थित नेपाली राजदूतावासको कार्यवाहक राजदूत, सुशील घिमिरेलाई सम्पर्क गर्न सक्नेछन् ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी यक्रुेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै रसिया र युक्रेनबीच तनाव थप बढेको हो । उक्त दुवै क्षेत्रलाई रुस समर्थक विद्रोहीहरुको बाहुल्य भएको राज्यको रुपमा लिइन्छ । यसअघि रसियाले युक्रेनको सीमा नजिक आफ्नो सैन्य शक्ति तयारी अवस्थामा राखेको थियो ।