काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको लागि औपचारिक रोजगारीको अवसरहरू प्रदान गर्ने साझा उद्धेश्यको साथ कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच सम्झौता भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्धेश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले शारिरिक अपाङ्गता भएका व्यक्तिहरू मानसिक रुपमा उत्तिकै सक्षम हुने र उचित अवसर पाएको खण्डमा उनीहरूले पनि अन्य मानिसहरू सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्ने बताए ।
नेपाली परिप्रेक्ष्यमा शारिरिक अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको उनको भनाई छ । यो सहमतिले अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको अवसरहरू उपलब्ध गराएर नेपालको रोजगारी क्षेत्रलाई अझ बलियो बनाउने उनले दाबी गरे ।
यो सम्झौता पत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गरेका थिए ।