काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही चैत्र १६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा आफ्नो २५औँ वार्षिक साधारणसभा गर्न लागेको हो । सभामार्फत फाइनान्सले संस्थाको हाल कायम रहेको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसैगरी फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजी ८० करोड एक लाख रुपैयाँमध्येबाट छ प्रतिशत अर्थात् चार करोड ८० लाख छ हजार रुपैयाँबराबरको बोनस सेयर एवं कर प्रयोजनको लागि शून्य दशमलव ३१ प्रतिशत अर्थात् २५ लाख २६ हजार छ सय ३२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा दुई करोड ४१ लाख ६४ हजार आठ सय ९३ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले दुई करोड ७१ लाख १४ हजार एक सय ७८ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ८० करोड एक लाख रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब ६५ करोड २५ लाख ९८ हजार सात सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १९ करोड ८९ लाख ८५ हजार चार सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ३६ लाख ९५ हजार आठ सय ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव २६ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने तीन करोड ५८ लाख ८० हजार आठ सय दुई रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले दुई अर्ब ९१ करोड ८६ लाख ५७ हजार छ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २४ करोड ७६ लाख एक हजार तीन सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ४४ लाख ३५ हजार चार सय ८२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव शून्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७० प्रतिशत रहेको थियो ।