वासिङटन । अमेरिकाले अन्ततः रूसी कच्चा तेल, ग्यास र कोइलामाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यससम्बन्धी घोषणा गर्नलागेको सीएनएनले स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ ।
अमेरिकाले युरोपसँग मिलेर यो निर्णय गर्न चाहे पनि एकतर्फी रुपमा घोषणा हुनलागेको बताइएको छ । केही युरोपेली देशहरुले रूसी ऊर्जास्रोतमा प्रतिबन्ध लगाउन नहुने बताएपछि सहमति नभएको हो । युरोप ऊर्जास्रोतमा अमेरिकाभन्दा बढी रूससँग निर्भर छ । अमेरिकामा रूसी तेल, प्राकृतिक ग्यास र कोइलामाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेपछि सरकार बाध्य भएर यो निर्णय लिनलागेको हो ।
बाइडेनले मंगलबार यसबारे घोषणा गर्दै छन् । सन् २०२१ मा अमेरिकाले झण्डै आठ प्रतिशत ऊर्जा रूसबाट आयात गरेको थियो । त्यसमा तीन प्रतिशतमात्रै कच्चा तेलको हिस्सा छ । यी वस्तु आयात रोक्नेबारे ह्वाइटहाउसका अधिकारीहरु हप्ता लामो छलफल गरिरहेका थिए । बाइडेन प्रशासनका पदाधिकारी भेनेजुएलासमेत पुगेको बताइएको छ । उक्त देशको कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा पठाउनेबारे सल्लाह गर्न त्यसतर्फ गएको सीएनएनले जनाएकोा छ । त्यस्तै अमेरिकी अधिकारीहरु साउदी अरेबिया समेत जाने तरखरमा छन् । यसबाहेक आणविक सम्झौतामा लचिलो भएर अन्तर्राष्ट्रिय बजारमा तेल पठाउन इरानलाई समेत बाटो खोल्नेबारे पनि छलफल अघि बढेको बुझिएको छ ।
शेलले पनि रूसी तेल र ग्यास नकिन्ने
लण्डन । पछिल्लो समय युक्रेनमाथि आक्रमण थालेसँगै रूसलाई आफ्नो कच्चा तेल र प्राकृतिक ग्यास बेच्न कठिन भएको छ । बेलायती कम्पनी शेलले पनि मंगलबार रूसको ऊर्जा उद्योगलाई धक्का दिने निर्णय गरेको छ । कम्पनीले सबैखाले तेल खरिद र आफ्नो सेवा रूसमा रोक्ने बताएको हो ।
गत हप्ता नै शेलले रूसमा लगानी नगर्ने बताएको थियो । उसले रूसी कच्चा इन्धनसम्बन्धी सबै व्यापार बन्द गर्ने भएको हो । योसँगै रूसको अधिकांश ऊर्जाजन्य निर्यातमा गम्भीर धक्का पुगेको छ । युक्रेनमाथिको आक्रमणपछि रूसमाथि अमेरिका र युरोपले असाधारण प्रतिबन्ध लगाएका छन् । रूसले सोमबार मात्रै कच्चा तेलको मूल्य तीन सय अमेरिकी डलर पुग्नसक्ने चेतावनी दिएको थियो । पश्चिमा राष्ट्रले प्रतिबन्ध लगाउने संकेतसँगै रूसको यस्तो भनाइ सार्वजनिक भएको हो ।

प्रतिबन्ध नरोके प्राकृतिक ग्यास आपूर्ति युरोपमा रोक्नसक्ने पनि मस्कोले चेतावनी दिएको छ । उसले जर्मनीले नर्ड स्ट्रिम २ पाइपलाइन योजना प्रमाणीकरण नगर्ने निर्णय गरेपछि ग्यास आपूर्ति रोक्ने चेतावनी दिएको हो ।
शेलले तत्कालै रूसी तेल खरिद रोक्ने र अहिले भएका सम्झौता समेत नवीकरण नगर्ने निर्णय लिएको हो । उसले रूसी कच्चा तेलको आपूर्ति शृंखलासमेत बन्द गर्ने बताएको छ । त्यस्तै कम्पनीले आफ्ना सर्भिस स्टेसन रूसमा बन्द गर्ने भएको छ । रूससँग जोडिएका पेट्रोलियम उत्पादनहरु, पाइपलाइन ग्यास र तरलीकृत प्राकृतिक ग्यास व्यवसायबाट हात झिक्ने कम्पनीले उल्लेख गरेको छ ।