काठमाडौं । लगातार ओरालो लागेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहिबार भने हरियाली देखिएको छ । अघिल्लो दिन ३० अंकले ओरालो लागेको बजार परिसुचक आज ५२ दशमलव ३१ अंकले उकालो लागेर २५ सय ६६ दशमलव ९० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३४ बिन्दुले उकालो लागेर चार सय ९३ दशमलव ५३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसबाट ४३ हजार पाँच सय ३८ पटकको कारोबारमा ५६ लाख १० हजार छ सय ३१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल शेयर कारोबार रकम दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार नौ सय ७० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये अन्य उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहको सुचक भने उकालो लागेका छन् ।