काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । कामना सेवा विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने बिषयमा उक्त सम्झौता भएको ग्लोबल आईएमई बैंकले जानकारी दिएको छ । सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरूलाई गैरकोषमा आधारित एलसी, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङजस्ता सुविधाहरू उपलब्ध गराउनेछ । बैंकले मुलुकभर दुई सय ८७ वटा शाखा, दुई सय ५२ वटा एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा मुलुकबाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । यसैगरी, कामना सेवा विकास बैंकले देशभर रहेका आफ्ना एक सय ३२ वटा शाखा, एउटा विस्तारित काउन्टर, चारवटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।